Breaking

देशकै दोस्रो ठूलो सबस्टेसन उद्घाटन गर्न रामेछाप जाँदै प्रधानमन्त्री देउवा


काठमाडौँ — राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाअन्तर्गत रामेछापको मन्थलीमा निर्मित ‘न्यु खिम्ती सबस्टेसन’ आज (शनिबार) उद्घाटन गरिँदै छ । त्यसका लागि आज प्रधानमन्त्री शेरबहादुर देउवा रामेछाप जाने कार्यक्रम छ ।

ढल्केबरस्थित ४०० केभी क्षमताको ढल्केबर सबस्टेसनपछि यो देशकै दोस्रो ठूलो सबस्टेसन भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

रामेछापको मन्थली नगरपालिका–१३ देवीटारमा निर्माण भएको सबस्टेसनले दोलखाको गोंगरबाट आएको डबल सर्किट २२० केभी क्षमताको प्रसारण लाइनलाई ढल्केबरसम्म जोडेको छ ।

सोही सबस्टेसन हुँदै १३२ केभी क्षमतामार्फत काठमाडौं जोडिएको छ। सबस्टेसनमा १०० एमभीए क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ । सो सबस्टेसनबाट धनुषाको ढल्केबरमा बिजुली प्रवाह भइरहेको छ ।

प्राधिकरणका अनुसार ढल्केबरमा १३२, २२० र ४०० केभी क्षमताका तीनवटा सबस्टेसन सञ्चालनमा छन् । न्यु खिम्ती सबस्टेसनका इलेक्ट्रिकल इन्जिनियर प्रदीप दाहालका अनुसार शनिबार प्रधानमन्त्रीबाट हुने उद्घाटन कार्यक्रमको तयारी पूरा भएको छ । वि. सं २०७५ देखि बनाउन थालिएको सो सबस्टेसन गत असारमा निर्माण पूरा भएको हो ।

सुरुवाती लागत १ अर्ब ५० करोड रुपैयाँ बराबर भएपछि प्राकृतिक विपत्ति, कोरोना त्रासलगायत कारणले गर्दा थप केही ‘भेरियसन’ भएको छ । नयाँ खिम्ती सबस्टेसनमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बिजुली जोडिएको छ ।

यस्तै, ५२.४ मेगावाट क्षमताको लिखु दोस्रो र २४।१ मेगावाट क्षमताको लिखु ए जलविद्युत आयोजनाबाट उत्पादित बिजुली जोडिएको छ ।

यस्तै गर्ज्याङ हाइड्रोपावर, खिम्ती(२ को बिजुलीसमेत सोही सबस्टेसनमा जोडिने छ । हालको क्षमताअनुसार सो सबस्टेसनमा कूल ९०० मेगावाट बराबर बिजुली जोड्न सकिने फोरम्यान सिभिल विश्वासकुमार भण्डारीले जानकारी दिए ।

रामेछाप, दोलखालगायत जिल्लामा निर्माण सम्पन्न भएका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाको बिजुली जोडिने भएकाले सो सबस्टेसन प्राधिकरणको भाषामा हब सबस्टेसनका रूपमा विकास हुनेछ ।

गत साउनको अन्तिम साता सो सबस्टेसन चार्ज गरिएको थियो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोसीको बिजुली देशभर उपलब्ध गराउन महत्त्वपूर्ण मानिएको सो सबस्टेसनको सञ्चालनपछि बिजुली प्रवाहमा थप सहजता उत्पन्न हुने विश्वास प्राधिकरणले व्यक्त गरेको छ । माथिल्लो तामाकोसीको झण्डै १ अर्ब युनिट बिजुली सोही सबस्टेसन भएर प्रवाह भइसकेको छ ।

सबस्टेसनमा चारवटा पावर ट्रान्सफर्मर जडान भएका छन्। जडान भएका ट्रान्सफर्मरमध्ये तीनवटा नियमित सञ्चालनमा ल्याइने र एउटा भने जगेडामा रहनेछ ।

सरकारको विशेष चासोका साथ मार्गदर्शन, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियमित अनुगमनपछि आयोजना सम्पन्न भएको न्यु खिम्ती सबस्टेसनका कर्मचारीको भनाइ छ ।

‘काम सम्पन्न हुँदा असाध्यै खुसी लागेको छ। त्यसमाथि प्रधानमन्त्रीले नै उद्घाटन गर्न लाग्नुभएकाले हामीले गरेको कामप्रति अझै गौरवको महसुुस भएको छ’, इलेक्ट्रिकल इन्जिनियर दाहालले भनेका छन् ।

सिभिल फोरम्यान भण्डारीले पनि लामो मेहनतपछि आयोजना सम्पन्न हुँदा प्राधिकरणका सबै कर्मचारीले गौरवको महसुस गरेको बताएका छन् ।

केही दिनअघि मात्रै ऊर्जामन्त्री पम्फा भुसालले सर्लाहीको लालबन्दीमा १२२/३३ केभी सबस्टेसनको उद्घाटन गरेकी थिइन् । यही चैत ३ गते न्यु बुटवल–बर्दघाट २२०/१३२ केभी सबस्टेसनको उद्घाटन गरिएको छ । यसबाट वर्तमान सरकारले ऊर्जा क्षेत्रको विकासमा विशेष ध्यान र चासो दिएको स्पष्ट हुन जाने ऊर्जा मन्त्रालयको भनाइ छ ।