Breaking

रूसको मागपछि रोकियो इरानसँगको आणविक वार्ता


काठमाडौँ — सन् २०१५ इरानसँग भएको आणविक सम्झौताको पुनरुत्थान सम्बन्धमा युरोपेली सङ्घ (ईयू) ले अध्यक्षता गरिरहेको वार्ता शुक्रबारदेखि रोकिएको छ । वार्ताको केही दिनपछि वार्ताले सकारात्मक मोड लिइरहेको बताइएको समयमा रूसद्वारा वार्ता प्रक्रियालाई रोक्न गरिएको आह्वानपछि वार्ता अवरूद्ध बनेको हो ।

‘वार्ताको अन्तिम चरणमा सबै बुँदा तयार भई ‘सकारात्मक छलफल’ भइरहेका समय ‘बाह्य शक्तिका कारण’ वार्ता रोकिएको ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले ट्वीटमार्फत जानकारी गराएका छन् ।

हालको वार्ता नोभेम्बरको अन्त्यतिर अस्ट्रियाको राजधानी भियनामा बेलायत, चीन, फ्रान्स, जर्मनी, इरान र रुसबीच सुरु भएको थियो। अमेरिकाले अप्रत्यक्ष रूपमा भाग लिएको थियो ।

सन् २०१८ मा अमेरिकी भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्झौताबाट हटेपछि इरानले पनि क्रमशः सम्झौतालाई भङ्ग गरेको थियो । वार्ता टोलीले सन् २०१५ संयुक्त व्यापक कार्ययोजना (जेसीपीओए) पुनः जीवित गर्नका लागि लक्ष्यतर्फ धेरैजसो उपायबारे प्रगति भएको थियो ।

वार्ताको व्यक्तिगत अध्यक्षता गरिरहेका युरोपीय सङ्घका कूटनीतिज्ञ एनरिक मोराले संवाददाताहरूसँग भने, “वार्तामा असहमतिका कतिपय बुँदामा ‘फुटनोट’ लेख्ने हदसम्म पुगिएको थियो ।” उनले विशेष गरी संयुक्त राज्य अमेरिका र इरानलाई उनीहरूको “अत्यन्तै रचनात्मक र धेरै सकारात्मक दृष्टिकोण” का लागि प्रशंसा गरे ।

तथापि, गत हप्ता रूसले युक्रेनको आक्रमणपछि आफ्नो अर्थ व्यवस्थामा लगाइएको पश्चिमी प्रतिबन्धले इरानसँगको आफ्नो व्यापारमा कुनै प्रभाव पार्ने छैन भन्ने ग्यारेन्टी माग गरिरहेको बताएको थियो ।

सन् २०१५ मा मौलिक जेसीपीओएमा जस्तै, मस्कोले कुनै पनि नयाँ सम्झौता कार्यान्वयनमा भूमिका खेल्ने अपेक्षा थियो ।