Breaking

ड्रागन खेतीमा रमाउँदै गरेका पूर्वमन्त्री विष्ट, भन्छन् : अब फोहोरी राजनीतिमा फर्किन्नँ

'अहिलेको राजनीति कमिसनखोर भयो'


काठमाडौँ — पूर्वमन्त्री लोकेन्द्र विष्ट अहिलेका चल्तीका किसान हुन् । आफूलाई व्यावसायिक किसान भन्न रुचाउने विष्ट अहिले खेतीमा व्यस्त छन् ।

नेपालमा ड्रागन फलको व्यावसायिक खेती भित्र्याउनेमध्येका एक किसान हुन् विष्ट । अहिले विष्ट तेस्रो चरणको ड्रागन फलको पर्खाइमा छन् । दुई चरणको ड्रागनको फल भित्र्याएर उनले आम्दानी लिइसकेका छन् ।

विष्टले दाङमा आएर ड्रागन खेती गरेसँगै नयाँ अनुभव लिएका छन् । मन्त्री हुँदा जति उत्साह थियो, अहिले खेती–किसानी गर्दा पनि उत्तिकै रहेको विष्ट बताउँछन् । ‘मैले खेतमा काम गरिरहेको अवस्थामा कसैले देखेमा, भेट्न बोलाइ हाल्नुहुन्छ,’ विष्टले भने, ‘मन्त्री हुँदा जसरी मान्छे भेट्न आउँथे, अहिले खेती गर्दा पनि उत्तिकै भेट्न आउँछन् ।’

दाङको तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीको घोराही–तुलसीपुर सडक छेउमा कुनै समय बाँझो रहेको जग्गालाई विष्टले हराभरा बनाएका छन् । ड्राग्रन खेतीका लागि त्यो भूमि त्यत्ति उपयुक्त होइन, किनकि त्यसका लागि बलौटे माटो चाहिन्छ । तर पनि मेहनत गर्दा भने त्यसले राम्रै आम्दानी दिनेरहेछ भन्ने एउटा उदाहरण विष्टले प्रस्तुत गरेका छन् ।

‘अहिले हामीले जति मेहनत यो जग्गामा गरेका छौँ, त्यति मेहनत बलौटे माटोमा गरेको भए झनै धेरै आम्दानी गर्न सकिन्थ्यो’, विष्टले भने, ‘तर यसमै पनि निकै मेहनत हामीले गर्‍यौँ, त्यसैले आम्दानी राम्रै छ ।’

ड्रागन फल जेठदेखि असोज–कात्तिकसम्म फल्छ । यो प्रायः रातिमा फल्ने भएकाले पनि ‘रातकी रानी’ भनेर पनि नाम दिइएको छ । यो फल मात्रै होइन, बिरुवाबाट पनि विष्टले आम्दानी गरिरहेका छन् ।

अहिलेसम्म उनले दुई पटकमा गरेर सरदर ४० लाख रुपैयाँ आम्दानी गरिसकेका छन्। एक सिजनमा २८ देखि ३० क्विन्टलसम्म उत्पादन हुने गरेको छ । बिरुवाबाट त्यस्तै पाँच लाख रुपैयाँ जति आम्दानी भएको उनले बताए । अहिले उत्पादित बिरुवा दाङमात्रै होइन, अन्य जिल्लामा पनि उत्तिकै बिक्री हुन्छ । फल्दै गरेको ड्रागन बेच्दै गर्दा भाइरल बनेका विष्टलाई उत्पादन भएको फल बेच्न त्यति कठिनाइ भएन भने बिरुवा बेच्न पनि सहज भयो ।

विष्टले खेती गर्न थालेपछि सबैले यो खेतीका बारेमा चासो राखे । सबैले यो घरघरमै खेती गर्न चाहे। स्वास्थ्यका हिसाबले बहुउपयोगी मानिने यो फल सबैले घरमा लगाए । दुई पटक अधिक बिक्री भएको ड्रागन फलले तेस्रो पटकमा कत्तिको बजार पाउँछ, त्यो भने हेर्न बाँकी छ ।

‘बजार राम्रो छ, यहाँबाट काठमाण्डौलगायतका सहरमापनि पुग्ने गर्छ, बजारीकरणका लागि समस्या छैन,’ विष्टले भने, झन्डै एक करोड रुपैयाँ लगानी गरेर विष्टसहित तीन जनाले व्यावसायिक ड्रागन खेती सुरु गरेका हुन् ।

यसअघि पनि विष्टले कालो धानको खेती गरेर चर्चा कमाएका थिए । भकुन्डेमा कालो धानखेती गरेर चर्चामा आएका विष्ट दाङमा ड्रागन खेती गरेर उत्तिकै चर्चामा छन्। दाङमा पनि केही क्षेत्रफलमा धानखेती गरेको उनले बताए ।

नयाँ पुस्ताका युवालाई पनि नेपालमै बसेर पसिना बगाए मनग्य आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन सफल भएकोसमेत विष्ट बताउँछन् । ‘अहिले पनि युवा जमात रोजगारीका नाममा विदेश गइरहेको देखिन्छ’, उनले भने, ‘तर हाम्रै वरपर खेर गइरहेको जग्गामा पनि मेहनत गरे मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिन सफल भएको छु, धेरै युवाले अहिले यही ड्रागन खेती पनि गर्नुभएको छ ।’

छुटेन राजनीतिको ‘लत’
राजनीतिबाट पूर्णरूपमा ‘रिटायर्ड’ भए पनि विष्टले राजनीतिक लत भने छाडेका छैनन । उनी राजनीतिलाई नजिकबाट नियालिरहेका छन् । यसको एउटा प्रमाण सामाजिक सञ्जालमा उनले दिने विचार हो ।

समसामयिक राजनीतिका विषयमा प्रत्येक दिन केही न केही स्टाटस आइरहेका हुन्छन् । यद्यपी विष्ट भन्छन्, ‘अब म राजनीतिमा सक्रिय भएर लाग्दिनँ, अब मेरो पेसा भनेको कृषि नै हो ।’

कृषिलाई राजनीति अडिने घरका रूपमा वर्णन गर्छन् विष्ट। उनले राजनीति भनेको कृषिको धुरी भएको प्रतिक्रिया दिए। ‘अर्थतन्त्र भनेको राजनीतिको जग हो, कृषि भनेको हाम्रो जग हो’, उनले भने, ‘जब हामी कृषिलाई परित्याग गरेर राजनीति गर्छौँ, त्यो राजनीति हुँदैन, त्यो त लाजनीति हुन्छ।’

भाषणमा समाजवादका कुरा गर्ने तर श्रम गरेर खाने वर्गलाई हेप्ने प्रवृत्ति छ, यो सर्वहारा वर्गका प्रतिध्रुवीय वर्गले अँगाल्ने चिन्तन भएको उनले बताए। राजनीतिविनाको कृषि र कृषिविनाको राजनीति सम्भव नहुने उनको भनाई छ । ‘म अब सक्रिय राजनीतिमा आउँदिनँ । मेरो पार्टी भनेको यही कृषि पार्टी हो,’ उनले भने ।

सत्ता सञ्चालनको विधि राजनीति भएको भन्दै विष्टले अन्य विकसित देशले पनि राजनीति गर्ने तर कृषि पेसालाई नछाडेको अवस्था छ, तर नेपालमा उल्टो भएको बताए ।

आजीवन राजनीति गर्ने प्रवृत्तिको विष्ट विरोधी छन्। राजनीति भनेको आजीवनको पेसा नभइ यो आवधिक हुने उनी बताउँछन्। भन्छन्, ‘राजनीति भनेको आजीवनको पेसा, व्यवसाय, कसैको ठेक्कापट्टा, रोजगारी होइन, यो त आवधिक समाजसेवा हो।’

राजनीति भनेको निःशुल्क, निःसर्त हुने उनी बताउँछन्। तर अहिले त आफूविना राजनीति नै नचल्नेजस्तो प्रवृत्ति रहेको भन्दै विष्टले यो गलत भएको बताए ।

विष्ट दुई पटक मन्त्री भइसकेका व्यक्ति हुन्। पहिलो पटक स्वास्थ्य मन्त्री भएका विष्ट दोस्रो पटक पर्यटन मन्त्री भए। माओवादीको १० वर्षे जनयुद्ध सुरुवात गर्ने १९ केन्द्रीय सदस्यमध्ये एक हुन् विष्ट। जतिबेला उनलाई ‘अभ्यास’ उपनामले चिनिन्थ्यो।

आफू ५५ वर्ष हुँदासम्म राजनीति गरेको र अब बाँकी जीवन कृषिलाई समर्पित गर्ने उनी बताउँछन्। ‘मैले राजनीतिमा ५५ वर्ष बिताएँ, अब बढी बाँचे २०–२२ वर्ष बाँचुला’, विष्ट भन्छन्, ‘अब मैले सचेत ढङ्गले राजनीति छाड्नुपर्छ, भनेर नै यो पेसा अँगालेको हुँ। अब राजनीतिमा नयाँ मान्छे आउनुपर्छ, नेतृत्व विकास गर्नुपर्छ भन्ने मेरो बुझाइ हो ।’

कम्युनिस्ट सदस्य हुने रहर
राजनीति छाडेको भनेपछि अझै पनि पार्टीको सदस्य बन्ने रहर भने मेटिएको छैन । अलि बढी क्रान्तिकारी र इमानदारिता देखिएको कम्युनिस्ट पार्टीको सदस्यता भने लिने अझै पनि इच्छा छ विष्टको।

‘मर्ने बेलामा साथीले यो हाम्रो सदस्य हो भनेर झण्डा ओढाइदेलान् नि’, उनले भने, ‘त्यही झण्डाका लागि जिन्दगी राजनीतिमै समर्पण गरियो, अब मर्ने बेला झण्डा किन छाड्ने, त्यसैले तुलनात्मकरूपमा अलि क्रान्तिकारीजस्तो देखिने एउटा कम्युनिस्ट पार्टीको सदस्यता लिएर मर्ने रहर छ ।’

तर, अहिले राजनीतिप्रति भने वितृष्ण पैदा भएको उनी बताउँछन्। ‘राजनीति समाजसेवाभन्दा पनि कमिसनखोरी भयो,’ उनले भने ।

त्यत्तिमात्रै होइन, राजनीति षड्यन्त्रमय, रहस्यमय हुने गरेको उनको अनुभव छ। ‘पार्टीका शीर्ष नेतृत्वभित्रका मान्छेले मात्रै बुझ्ने र अरूले नतमस्तक भएर ताली पिट्नुपर्ने अवस्था छ, सर्वहारा वर्गको पार्टीमा यस्तो हुनु एकदम गलत हो,’ उनले भने ।

उनले राजनीति र अपराधबीचमा कुनै भिन्नता नभएको, सर्वहारा, श्रमजीवी वर्गको विरोधीजस्तो देखिएको उनको बुझाइ छ ।

अहिले पनि आफूलाई राजनीतिमा आउनुपर्छ भनी धेरैले आग्रह गर्ने गरेको विष्ट बताउँछन् । तर उनलाई सक्रिय राजनीतिमा आउन इच्छा छैन । त्यसरी इच्छा मर्नुमा अहिलेको निर्वाचन प्रणाली पनि रहेको उनी बताउँछन् ।

‘निर्वाचन नै लड्दा चार–पाँच करोड रुपैयाँ खर्च हुन्छ, अझ त्यत्तिले पनि पुग्दैन’, उनले भने, ‘हामीले जनयुद्ध सुरु गर्दा मकै, भटमास खाएर त्यतिबेलाको राप्तीसहित जाजरकोट, डोल्पा, कालीकोटमा सङ्गठन निर्माण गरेका थियौँ । तर अब त्यस्तो राजनीति रहेन, अब त्यो कल्पना पनि गर्न सकिने अवस्था छैन ।’