Breaking

कांग्रेसको अपमान अब सहन सकिन्न: प्रचण्ड


काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेसका नेताहरुले आफूहरु माथि गरेको अपमान सह्य नहुने बताएका छन् । कांग्रेसलाई आफूहरुले नै उचालेर सिंहासनमा राखेको र आज उसैले आफ्नो अपमान गरेका सह्य नभएको जिकिर गरेका हुन् ।

ललितपुरको गोदावरीमा बुधबार बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने । ‘प्रत्यक्ष निर्वाचनमा हामीभन्दा काँग्रेस १० सिट तल हो । त्यहीँ पार्टीलाई उचालेर सिंहासनमा लगेर राखिएको छ’, उनले भने, ‘अहिले उसैले हामीलाई अपमानित गर्ने ? यस्तो अपमान सहन सकिन्न ।’

केही दिन अघि विराटनगरमा आयोजित कार्यक्रममा काँग्रेस संस्थापनइतरका नेताहरुले माओवादी र नेकपा एकीकृत समाजवादीलाई चमेरोको संज्ञा दिँदै हात्तीको कानमा ओत लाग्न खोजेको आरोप लगाएका थिए ।

अध्यक्ष प्रचण्डले एमसीसी जस्ताको तस्तै पारित गर्नुहुँदैन भनेर आफूले नै अडान लिएको दाबी पनि गरे । उनले प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर भए पनि एमसीसी पास गर्ने अवस्थामा पुगेपछि आफूले ‘व्याख्यात्मक घोषणा’को उपाय निकालेको पनि बताएका छन् ।

उनले एमसीसी बहसमा विगत जस्तो विवाद र बहस चलिरहेको भए माओवादी फुटिसकेको हुने भन्दै त्यसबाट आफूले बचाएको ब्रिफिङ गरेका छन् ।