Breaking

प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता


काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । राजदूत यान्छी प्रचण्ड भेट्न बुधबार बिहान खुमलटार पुगेकी थिइन् । प्रचण्ड र राजदूत यान्छीबीच चीनका विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका विषय लगायत पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको स्रोतले जनाएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अहिले वाङको भ्रमणको तयारी भइरहेको छ । दुबैतिर तयारी भइरहेको छ । मिति तोक्न बाँकी छ । छिट्टै हुने सम्भावना छ, परराष्ट्र स्रोतले भन्यो । यसअघि सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री नारायण खड्काले नेपालमा उच्चस्तरीय भ्रमण हुन लागेको बताएका थिए । उनले कसको भ्रमण हुन लागेको हो भन्नेबारे जानकारी दिएका थिएनन् । पछिल्लो समय नेपालमा अमेरिकी सहयोग परियोजना एमसिसी पास गर्न बेलामा चीनले सार्वजनिक रूपमै टिप्पणी गरेको थियो ।

एमसिसीमा अमेरिकाले धम्कीपूर्ण कूटनीति सुरू गरेको र यो सहयोग हो कि पान्डोराज बक्स भन्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताहरूको टिप्पणीले काठमाडौंको कूटनीतिक वृत्तमा चर्चा पाएको थियो । एमसिसी पारित भएपछि पछिल्लो समय अमेरिकासँग व्यापार युद्ध गरिरहेको उत्तरी छिमेकी चीनसँग नेपालको सम्बन्ध कसरी अघि बढ्ला भन्ने चासो भइरहेका बेला चिनियाँ विदेश मन्त्री काठमाडौं आउन लागेका हुन् ।