Breaking

लुक्ला विमानस्थलनजिक लागेको डढेलो ४ दिनपछि नियन्त्रणमा


काठमाडौँ — खुम्बुपासाङल्हामु गाउँपालिका–२ स्थित तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकै हरियाली सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ । डढेलो चार दिनपछि नियन्त्रणमा आएको खुम्बुपासाङल्हामु गाउँपालिका–२ का वडाध्यक्ष आङ्फुर्वा शेर्पाले योहो खबरलाई जानकारी दिनुभयो ।

तीव्र वेगको हावाका कारण डढेलो नियन्त्रणमा लिन कठिन भएको अध्यक्ष शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले डढेलो नियन्त्रणमा आएको छ । नेपाल प्रहरी, नेपाली सेना, स्थानीयवासी र गाउँपालिकाको सहकार्यमा डढेलो नियन्त्रणम आएको छ ।’

स्थानीयवासीले डढेलो नियन्त्रणमा लिन नसकेपछि सोमबारदेखि हेलिकोप्टरको प्रयोग गरिएको थियो । भीर भएकाले मानिस गएर डढेलो नियन्त्रण गर्न समस्या भएपछि हेलिकोप्टरको प्रयोग गरिएको खुम्बुपासाङल्हामु गाउँपालिकाका कार्यबाहक अध्यक्ष टासी ल्हमु शेर्पाले जानकारी दिनुभयो ।

गाउँपालिकाको पहलमा ल्याइएको हेलिकोप्टरले ८४ हजार लिटर पानी प्रयोग गरेर डढेलो नियन्त्रणमा ल्याएको वडा अध्यक्ष शेर्पाले बताउनुभयो । डढेलो तीव्र गतिमा फैलिँदा धुवाँका कारण सोमबार बिहान करिब एक घण्टा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला बन्द गरिएको थियो । डढेलोका कारण सल्ला, उत्तिसलगायत विभिन्न प्रजातिका बोटबिरुवा नष्ट भए पन िक्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

यस्तै‚ महाकुलुङ गाउँपालिका–५ मा पर्ने थोकोपैस देवाखर्क सामुदायिक वनमा लागेको डढेलो करिब सात घण्टापछि नियन्त्रणमा आएको छ । मंगलबार बिहान करिब ११ बजेबाट सुरु भएको डढेलो साँझ ५ बजेबाट नियन्त्रणमा आएको स्थानीयवासीले बताएका छन् ।