Breaking

डढेलोको जोखिममा लुक्लाका १३ घर


काठमाडौँ — खुम्बुपासाङल्हामु गाउँपालिका–२ मा पर्ने हरियाली सामुदायिक वनमा लागेको डढेलो बस्ती नजिक पुगेको छ । चार दिनदेखि लागेको डढेलो नियन्त्रणबाहिर हुँदा नाक्चुङबस्ती नजिक पुगेको छ ।

डढेलोका कारण नाक्चुङ क्षेत्रका १३ घरपरिवार जोखिममा परेको वडा अध्यक्ष आङ्फुर्वा शेर्पाले बताए। तीव्र वेगको हावाका कारण आगो नियन्त्रणमा लिन कठिन हुँदा समस्या भएको बताइएको छ। स्थानीयवासीले आगो नियन्त्रणमा लिन नसकेपछि सोमबारदेखि हेलिकोप्टरको प्रयोग गरिएको छ ।

सिम्रिक एयरको हेलिकोप्टरले आगो नियन्त्रणमा लिने प्रयास जारी राखेको भए पनि मंगलवार बेलुकासम्म सफल नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले बताएको छ । गाउँपालिकाको पहलमा ल्याइएको हेलिकोप्टरले आगो नियन्त्रणका लागि ८४ हजार लिटर पानी प्रयोग गरेको वडा अध्यक्ष शेर्पाले बताए । मंगलबार बेलुका लुक्लामानै बसेको हेलिकोप्टरले बुधबार पनि आगो नियन्त्रणको प्रयास गर्ने बताइएको छ ।

अत्याधिक भिरालो र तीव्र वेगको हावाका कारण मानिसले आगो नियन्त्रणको प्रयास समेत गर्न नसक्ने स्थानीयवासी रामे तामाङले बताए । आगो तीव्र गतिमा फैलिँदा धुवाँका कारण सोमबार बिहान करिब एक घण्टा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला बन्द गरिएको ‍थियो । आगोका कारण सल्ला, उत्तिसलगायत विभिन्न प्रजातिका बोटबिरुवा नष्ट भएको भएपनि के कति क्षति भयो एक्किन गर्न कठिन भएको बताइएको छ ।

यस्तै‚ महाकुलुङ गाउँपालिका–५ मा पर्ने थोकोपैस देवाखर्क सामुदायिक वनमा लागेको डढेलो करिब सात घण्टापछि नियन्त्रणमा आएको छ । मंगलबार बिहान करिब ११ बजेबाट सुरु भएको डढेलो साँझ ५ बजेबाट नियन्त्रणमा आएको स्थानीयवासीले बताएका छन् ।