Breaking

पाकिस्तानी प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव दर्ता


काठमाडौँ — पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता भएको छ । विपक्षी दलको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) ले उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको हो ।

केही साताअघि बसेको गठबन्धनको बैठकपछि गठबन्धनका प्रमुख मौलाना फजलुर रहमानले गठबन्धनका सबै दल अविश्वास प्रस्तावको लागि तयार रहेको बताएका थिए ।

पाकिस्तानको संविधान अनुुसार अविश्वास प्रस्ताव पारित गर्न संसदको साधारण बहुमत आवश्यक पर्छ। पाकिस्तानको संसदमा ३४२ सदस्य छन् । खानविरुद्ध १७२ मत परेको अवस्थामा उनले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने हुन्छ ।

इमरान खानको पार्टी पीटीआईसँग संसदको १५५ सिट छ । उनको पार्टीले सेनासँग निकट पार्टीसँग मिलेर सरकार बनाएको हो । यद्यपि पाकिस्तानका प्रधानमन्त्रीले भने अविश्वासको प्रस्तावबारे कुनै चिन्ता नरहेको स्पष्ट पारेका छन् ।

पाकिस्तानका सूचनामन्त्री फवाद चौधरीले विपक्षीले खानलाई सरकारबाट हटाउन गरेको यो १३ औं प्रयास रहेको बताए ।