Breaking

माओवादी भित्र संकटको चाङ बढ्दै, एक पछि अर्को गन्जोलमा फस्दै पार्टी


काठमाडाैँ – सत्तारूढ नेकपा माओवादी केन्द्र भित्र पदाधिकारी चयनको विषय अझ पेचिलो बन्दै गएको छ । अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड चयन भएको दुई महिना वित्दा समेत स्थायी कमिटी, पोलिटब्युरो र नेताहरूको जिम्मेवारी बाँडफाँटको विषय अझै टुङ्गो लाग्न नसकेको हो ।

पदाधिकारी चयन, स्थायी कमिटी, पोलिटब्युरो र नेताहरूको जिम्मेवारी बाँडफाँट लगायतको विषय टुंगो लगाउन माओवादी केन्द्रभित्र सकस देखिएको छ । सुरुका दिनहरुमा नेता वर्षमान पुन स्वास्थ्य उपचारकाका क्रममा चीनमा रहेको कारण रोकिएको पदाधिकारी चयन लगायतका विषयमा अझै सहमति जुट्न नसकेको हो ।

महाधिवेशनबाट चयन भएको केन्द्रीय कमिटी बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अध्यक्ष बनाउने निर्णय गरेको दुई महिना वित्दा समेत पदाधिकारी चयनको प्रक्रिया भने पर धकेलिँदै आएको छ । पदाधिकारी चयनमा आकांक्षीको संख्या धेरै भएपछि प्रचण्ड दबाबमा छन ।

अध्यक्षबाहेक उपाध्यक्ष, महासचिव, सचिवलगायतका बाँकी १४ पदाधिकारी चयन गर्न बाँकी छ तर नेताहरूको अस्वस्थ दबाबपछि यो प्रक्रियालाई स्थानीय तहको निर्वाचन पछी मात्र टुंग्याइने भएको छ । प्रचण्डलाई अर्को दवाव नारायणकाजी श्रेष्ठको छ । एमसीसीको विषयले पार्टी नै अलग बनाउनेसम्मको अभिव्यक्ती दिएका उनले अहिले यसैलाई बार्गेनिङ टुल्स बनाएका छन् ।

प्रचण्डले आफू निकट गिरिराजमणी पोखरेललाई महासचिवमा अघि सारेका छन भने जनार्दन शर्मा र वर्षमान पुन पनि महासचिवबाट पछि नहट्ने अडानमा छन । सकस केन्द्रीय सदस्यको मनोनयको विषयमा पनि देखिएका छ । युवालाई समितिमा समेटिनु सकारात्मक भएपनि प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यको प्रस्तावमा भने नेताहरुले प्रश्न उठाएका छन् ।

फलत: ९७ जना प्रस्तावित मध्ये ५० जनाको नाममा मात्र सहमती जुटेको बताईको छ । यद्यपी उनीहरुको समेत नाम सार्र्वजनिक गरिएको छैन । अन्य दलहरु निर्वाचनमा होमिदाँ माओवादी भने आन्तरिक विवादबाट निस्किन सकेको छैन ।

भातृसंगठन अस्तव्यस्त छन् भने प्रचण्डको परिवार मोहले पनि अझ समस्या थपिरहेको छ । उनले नै एमसीसीमा देखाएको दोहोरो चरित्रका कारण माओवादी भित्र पदाधिकारी र एमसीसीको दोहोरो सकस सुरु भएको हो । जसले आन्तरिक विवाद अझ पेचिलो बन्दै गएको छ ।

हुन त प्रचण्डले एमसीसीमा आफूले लिएको निर्णयले पार्टीलाई ठुलो संकटबाट बचाएको बताँउदै आएका छन । तर पार्टीभित्र भने संकटको चाङ बढ्दै गएको छ । जसबाट बाहिर निस्कन निर्णायक कदम चाल्ने भन्दा पछि धकेल्ने रणनितिमै प्रचण्ड देखिएका छन ।

उनको यहि रणनितिकै कारण एमसीसी विवाद विषयको छलफल पनि आगामी निर्वाचन पछि धकेलिएको छ । जुन प्रस्तावमा श्रेष्ठ राजी भएसँगै माओवादीभित्र देखिएको आन्तरिक विवाद पनि तत्कालको लागि व्यवस्थापनभएको छ तर यो आलटाल कहिलेसम्म चल्छ त्यो भने हेर्न बाँकी नै छ ।