काठमाडौँ – रुसले युक्रेनमा आक्रमण जारी राखेको आज ११ औं दिनमा प्रवेश गरेको छ । जारी युद्धमा युक्रेनले पनि डटेरै सामना गरिरहेको छ । युक्रेनी प्रतिरोधको प्रतिक्रिया स्वरूप रुसले विभिन्न शहरका ‘सघन बस्ती भएका क्षेत्र’लाई निशाना बनाएको यूकेको रक्षा मन्त्रालयले जनाएको छ ।
अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार रुसी सेनाले युक्रेनको राजधानी किभको उत्तरपश्चिमी सहरहरूमा आक्रमण जारी राखेको छ । इरपिनमा रहेको बीबीसी संवाददाताले मानिसहरू यहाँबाट सुरक्षित ठाउँमा सर्ने प्रयास गरिरहेको बताएका छन् । पैदल वा कुनै माध्यमबाट भए पनि अत्यावश्यक सामान बोकेर मानिसहरु बाहिर निस्कन खोजिरहेका छन् ।
तर मारिउपोल र भोल्नोभान्खा सहरबाट मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास असफल भएको छ । ती क्षेत्रमा पूर्व घोषित अस्थायी युद्ध विराम हुन नसकेपछि बाहिरिने आशामा रहेका सर्वसाधारण शिविरहरूमा फर्कन बाध्य बनेका छन् ।
नजिकैको भोल्नाभाका शहरबाट पनि सर्वसाधारण बाहिरिन सकेका छैनन् भने रुसले पनि अनपेक्षित प्रतिकार सामना गरिरहेको छ । तर युक्रेनको मारिओपोल शहरमा स्थानीय समय अनुसार फेरी आज बिहान १० बजेदेखि साँझ ९ बजेसम्मका लागि अस्थायी युद्ध विराम घोषणा गरिएको त्यहाँको सीटी काउन्सिलले जनाएको छ ।
बीबीसीका अनुसार आज एघारौ दिनलाई रासंसामा हेर्दा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले पश्चिमा समर्थक राष्ट्रलाई ’नो फ्लाइ जोन’ घोषणा गर्न आग्रह अमेरिकी सांसदहरूसँग भिडिओ कल गर्दा दोहो¥याएका छन् । उनले अमेरिकी राष्ट्रपति बाइडनसँग पनि शनिवार राति कुराकानी गरेका छन् । तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ’नो फ्लाइ जोन’ घोषणा गर्नु भनेको युद्धको कारबाही हुने चेतावनी दिएका छन् ।
कतिपय शहरमा पानी र बिजुली सेवामा अवरोध आएको बताइएको छ । अमेरिकी पैसा सम्बन्धी कारोबार गर्ने विशाल कम्पनीहरू भिसा र मास्टरकार्डले रुसमा आफ्नो सेवा स्थगित गरेको बताएका छन् भने रुसी र युक्रेनी प्रतिनिधिहरू अर्को चरणको सहमतिका लागि सोमवार भेट्ने तय भएको छ ।
युद्ध र वार्ताको यहिबीचमा युक्रेनकी एक उपप्रधानमन्त्रीले भने रुसको “आतङ्कवादी योजना“को नयाँ लहर शुरू भएकोे बताएकी छिन । ओल्हा स्टेफानिश्न्याले युक्रेनले आक्रमणको प्रतिरोध गर्ने दृढ सङ्कल्पका बाबजुद युद्धको अन्त्य हुने सङ्केत नदेखिएको बताएकी हुन् ।
रुसले आफ्ना सैनिकहरूको जीवनसहित “ठूलो नोक्सान“ बेहोर्नु पर्दा पनि भ्लादिमिर पुटिन निरुत्साहित नभएको तर थप आक्रमण प्रोत्साहित गरिरहेको उनको भनाई छ । यता युद्ध विरुद्ध रुसमा पनि दवाव बढ्दो रहेको छ । युद्धको विरोध गर्ने ६०० भन्दा धेरै प्रदर्शनकारीहरू रुसका २१ शहरहरूमा पक्राउ परेको निगरानी समूह ओभीडी–इन्फोले जनाएको छ ।
जेलमा रहेका विपक्षी नेता एलेक्सी नभाल्नीले युक्रेनमा भइरहेको युद्धको विरोधमा प्रदर्शन गर्न आह्वान गरेका थिए । उक्त निगरानी समूहले स्थानीय सञ्चार स्रोतहरूलाई उद्धृत गर्दै साइबेरियाको शहर नोभोसिबिर्क्समा मात्र २०० भन्दा धेरै मानिसहरू पक्राउ परेको जनाएको छ ।


प्रतिक्रिया