प्रदेश नं. २

विद्यालयमा नै सेनेटरी प्याड उपलब्ध हुन थालेपछि छात्रा हर्षित


काठमाडौँ – वीरगञ्ज महानगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयमा सेनेटरी प्याड उपलब्ध हुन थालेपछि छात्राहरु हर्षित भएका छन् । महिनावारी हुने समय आएपछि विद्यालय जाने कि नजाने र गएपनि कसरी दिन कटाउने भन्ने चिन्तामा रहेका किशोरीहरु चिन्तामुक्त बनेका हुन् ।

महिनावारी हुँदा शारीरिक समस्या हुने र पठनपाठनमै समस्या हुने तथा महिनावारीको समयमा छात्राहरु विद्यालय नै आउन छोडेपछि वीरगञ्ज महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरूको लागि निःशुल्क रूपमासेनेटरी प्याडको व्यवस्था गरेको छ । गत वर्षदेखि विद्यालयमै छात्राहरुलाई महिनावारी भएको समयमा प्याड निकाल्ने मेसिन सञ्चालनमा आएपछि सहज भएको छात्राहरु बताउँछन् ।

सामुदायिक विद्यालयका छात्राहरु महिनावारी भएको समयमा प्याड पाउन थालेपछि घर फर्किनुपर्ने बाध्यता हटेको विद्यालयका शिक्षिकाहरु बताउँछन् ।

प्याड वितरण कार्यक्रमले विद्यालयमा किशोरीहरूको उपस्थिति बढेको छ भने उनीहरूको शैक्षिक स्थिति पनि सुधार हुने अपेक्षा विद्यालयले गरेको छ ।