कोरोना विशेष

बजारमा सिटामोलको हाहाकार, आखिर कहाँ गयो त बजारको सिटामोल ? (भिडियोसहित)


काठमाडौँ – कोरोनाको दोश्रो लहरमा रेम्डेसिभिर र अक्सिजनजस्ता अत्यावशकीय स्वास्थ्य सामग्रीको अभाव भोगेका तितो यर्थाथ तेश्रो लहरमा पनि सुरु भएको छ । अर्थात ओमिक्रोनको संक्रमण बढन् थालेको सुरुवात चरणमै अत्यावश्यकीय औषधी सिटामोलको अभाव सुरु भएको हो । आखिर दुईदिनभित्रै कहाँ गयो त बजारको सिटामोल ?

कोरोनाको नयाँ भेरियन्टको संक्रमण बढेसंगै अत्यावश्यकीय औषधी सिटामोलको चरम अभाव भएको छ । पहिलो र दोस्रो लहरमा रेम्डेसिभिर र अक्सीजन अभावमा धेरै बिरामीले सास्ती भोग्नुपरेको तथा ज्यान नै गुमाउनु परेको तितो यर्थाथको एक वर्ष पनि नबित्दै उस्तै प्रकारको नियती दोहोरिएको हो । जसले हाम्रा संयन्त्रहरुले महामारी विरुद्ध गरिरहेको पूर्वतयारी तथा संकटबाट सिकेको पाठको अवस्था छर्लङ पारिदिएको छ ।नेपालको स्वास्थ्य प्रणालीको दयनीयताको वर्णन गर्दा सिटामोल समेत नपाएर ज्यान गुमाउनुपर्ने नेपाली भन्ने उदाहरण अहिले संघिय राजधानीमै चरितार्थ भएको हो । अर्थात अहिले अधिकांश फार्मेसीमा सिटामोल पाउन मुस्किल छ । फार्मेसीहरुले सिटामोल माग्न आउनेलाई वैकल्पिक औषधि दिएर पठाउने गरेका छन ।

यता औषधी व्यवस्था विभागले भने दुई दिन भित्रै एकाएक बजारमा देखिएको अभावलाई स्वभाविक मान्न नसकिने बताउछ । विगत दुई बर्षबाट उत्पादकहरुले मूल्यसमायोजनको विषयलाई लिएर विभागलाई ताकेता दिईरहेका थिए । तर २० वर्ष अघिमात्र विभागले यसको फाईल मन्त्रालयमा पठाएको छ । फलतःछिट्टै मुल्य समायोजन हुने आशामा उत्पादकहरुले केहि दिन समयबाट सिमित रुपमा मात्र सिटामोल उत्पादन गर्दै आएका थिए । यो बीचमा सिटामोलको माग ह्वात्तै बढेपछि अभाव देखिएको हो ।

अर्कातर्फ आवश्य नै नपरे पनि जोेहो गरिराख्ने नेपालीको बानीले समेत यो अभावमा भूमिका खेलेको छ । तर यसैलाई मात्र स्वभाविक कारण मान्न सकिने अवस्था छैन । माग बढ्दै गएको अवस्थामा उत्पादनले धान्न नसक्ने भन्ने जानकारी नगराउनुले पनि यो आशंकालाई मलजल गरेको छ । यद्यपी सिटामोलको सर्वसुलभताका लागि पहल थालिसकेको तथा अनुगमनलाई बढाईने विभागको बताएको छ ।

सिटामोल अभावमा विभाग र उत्पादक कति दोषी छन्, त्यो विस्तारै हिसावकिताव हुँदै जाला । तर बढ्दो महामारीको सन्त्रासका बीच औषधीको आपूर्ती गर्ने निकायको तयारी किन यति फितलो ?प्रश्न खडा भएको छ । अर्कातर्फ कहिले सुई नभएर खोप नै दिन नसक्ने, अनि लाखौ डोज खोप अनियमित हुँदा समेत थाहा नपाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकोे पूर्वतयारीप्रति समेत प्रश्न उठेको छ ।