कोरोना विशेष

कोरोना फैलाउने मिशनमा भीआईपी नै, आफैले बनाएको नियम तोडे (भिडियोसहित)


काठमाडौँ – कोरोना भाइरसको नयाँ भेरियन्ट र पछिल्ला दिनमा फैलिएको तीब्र संक्रमणले एकपछि अर्काे जोखिम मुखरित भइरहेको छ । तर रोकथाम र नियन्त्रणका लागि नियम बनाइरहेका सरकार सञ्चालकबाट धमाधम मापदण्ड तोडिएका छन् ।

सोमबार शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गरेको पत्रकार सम्मेलनमा कोरोना लक्षित स्वास्थ्य मापदण्ड पूर्ण रुपमा उल्लंघन भएको छ । मन्त्री, मन्त्रालयका कर्मचारी र पत्रकारको भिडभाडलाई हेर्दा यस्तो लाग्थ्यो काुरोना आम रुपमा निर्मुल भइसकेको छ । झारो टार्ने कामलाई अनावश्यक हल्ला फैलाएर वाहवाही बटुल्ने लालसामा महामारीकै जोखिमलाई आँखा चिम्लेर सरकारी पक्षबाटै भएको यो स्तरको लापरबाहीले कोरोनाको पछिल्लो ‘हटस्पट’ बनेको काठमाडौंलाई थप जोखिममा पारेको छ ।

तथ्यांकलाई हेर्दा आइतबारमात्रै नेपालमा ४ हजार ९ सय ६१संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै तीन हजार ३ सय ४७संक्रमित भेटिएका छन् । संक्रमण अत्यधिक गतिमा बढीरहेको छ । सोमबारमात्रै देखिएका ६ हजार ७ सय ४३ संक्रमितमध्ये उपत्यकाका मात्रै ३ हजार ९ सय ३९ संक्रमित छन् । तर सरकारीस्तरबाटै भइरहेको लापरबाही अराजकताको मानसिकतामा आधारित देखिन्छ ।

उस्तै खाले तामझाम र भिडभाडसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पनि आइतबार दिनभर छड्केमा थिए । लापरवाहीको हद कतिसम्म देखियो भने संक्रमणको शंकापछि आइतबार नै कोरोना परीक्षण गराए, र त्यसपछि ठुलो दलबल लिएर निस्कीए ।उनलाई सोमबार विहानमात्रै संक्रमण पुष्टि भएको छ । उनीबाटै आइतबार कतिमा संक्रमण फैलियो त्यसको लेखाजोखा छैन ।महामारीमाथिको मजाकले कोरोनाकै नाममा मापदण्ड बनाएको सरकारलाई धज्जी उडाएको छ ।

गृहमन्त्री बालकृष्ण खाँडले पुस २६ गते सार्वजनिकस्थलमा २५ जना बढी भिडभाड गर्न नपाइने कानुन बनाए र त्यसलाई कार्यान्वयन गर्न प्रहरी र देशभरका प्रशासनलाई पठाए । त्यसयता उनी आफै लगालग भिडभाड गर्दै हिडिरहेको छन् भने कोरोनाबाट नागरिक बचाउने भाषण दिन पनि छोडेका छैनन् ।

दोस्रो लहरको महामारीले थलिएको नेपाल राम्रोसँग तंग्रिन पनि पाएको थिएन । एमाले, काँग्रेस, राप्रपा हुँदै माआवोदीले यहि बेला हजारौंलाई सडकमा ल्याएर महाधिवेशन गरे । महाधिवेशन सक्न पाएको थिएन माओवादी केन्द्रका अध्यक्षसहितका नेताहरु त संक्रमित नै भएका छन् । सरकारकै प्रमुख चिउँडोमा मास्क लगाएर बस्छन् । कोभिड नियन्त्रण भएन भनेरसरकार प्रमुखलाई सचेत गराउन गएका प्रतिपक्ष मास्क नै खल्तीमा राखेर भेटघाट गरिरहेका छन् ।

डेनमार्कका प्रधानमन्त्री मेट्डे फ्रेडरिकसनले मास्क नगलाई किनमेल गर्न निस्किएको भिडिओ सञ्चारमाध्यममा आएपछि गत महिना माफी मागिन । गत असारमा बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्नान्ककले स्वास्थ्य मापदण्ड उलंघन गरेको तस्बिर बाहिरिएपछि राजीनामा गरे। कोभिडविरुद्धको खोप नलगाई अस्ट्रेलिया पुगेका विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोविच अध्यागमनको हिरासतमा बस्नुप¥यो । अहिले उनले अस्ट्रेलिया छोड्न बाध्य बनेका छन् । हाम्रो देशका सरकार सञ्चालकहरु नीति नियम बनाउँछन्, मात्र बनाउनका लागि बनाउँछन् । आफैं कार्यान्वयन गर्दैनन् । न आफैले नियम लत्याएको थाहा पाएपछि लज्जासरम् नै देखाउँछन् ।