अर्थनीति

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित : विश्व बैंक


काठमाडौँ — चालु आर्थिक वर्षमा मुलुकको कूल गार्हस्थ उत्पादन ३.९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ ।

विश्व बैंकले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा बुधबार जारी गरेको प्रतिवेदनमा सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरिएको छ । महामारीबाट बच्न खोप लगाउने जनसंख्यामा बढोत्तरीसँगै कृषि उत्पादकत्वमा हुने वृद्धि र सेवा क्षेत्रमा देखिएका केही सुधारका आधारमा बैंकले चालु आवमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशतमा संकुचित हुने प्रक्षेपण गरेको हो ।

कोभिड-१९ को महामारीले निम्त्याएको नयाँ जोखिम, मुद्रास्फीति, ऋण र असमानतामा वृद्धिबीच दक्षिण एशियाका उदीयमान र विकासशील अर्थतन्त्र पुनः मन्दितर्फ उन्मुख भएका प्रतिवेदनले औंल्याएको छ ।

महामारीभन्दा अघिको अवस्थामा फर्कने क्रममा रहेका केही दक्षिण एशियाली देशको अर्थतन्त्र कोभिड-१९ को अर्को लहरले प्रभावित हुने जोखिम बढाएको जनाइएको छ ।

सन् २०२१ को मध्यतिर कोभिडको दोस्रो ठूलो लहरले विश्व अर्थतन्त्रमा विशाल आर्थिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै प्रतिवेदनमा सन् २०२३ सम्म नै विश्व अर्थतन्त्र शिथिल रहने प्रक्षेपण गरिएको छ ।