अर्थनीति

शेयर बजारमा ओली–प्रचण्डको जुहारी, लगानीकर्ताले दिए यस्तो चेतावनी (भिडियोसहित)


काठमाडौँ — नेपालको शेयर बजारलाई लिएर राजनीतिक दलहरुले विभिन्न खाका प्रतिक्रिया दिन थालेपछि लगानीकर्तामा अन्यौलता छाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगानीकर्ताको मनोवल खस्कीने गरी दिएको अभिव्यक्तिमै टेकेर एमाले अध्यक्ष केपी ओलीले लगानीकर्ताको मन जित्ने प्रयास गरे ।

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले औद्योगिक क्षेत्रमा लगाउनु पर्ने पूँजीको लगानी शेयरबजारमा हुनु साम्राज्यवादको विकसित रुप भएको भन्ने अभिव्यक्ती दिएपछि त्यसको प्रत्यक्ष असर नेपाली शेयर बजार पर्यो । त्यसयता शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । सो क्रम अझै रोकिएको छैन । लगानीकर्ता प्रचण्डमाथि खनिइरहेको बेलामा एमाले अध्यक्ष ओलीले लगानीकर्ताबाट चन्दा नपाएपछि प्रचण्डले शेयरबजार विरोधि अभिव्यक्ति दिएको भनेर आगोमा ध्यू थप्ने काम गरे ।

यता प्रचण्डले भने विज्ञप्ति नै निकालेर पूँजीवादको चरित्रबारे आफूले गरेको विश्लेषण सही रहेको दाबी गरेका छन् । शेयर बजारका सन्दर्भमा लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको भन्दै उनले ओलीको भ्रामक दाबीको विश्वास नगर्न आग्रह गरेका छन् । यता दुई दलका शीर्ष नेताहरु आरोप प्रत्यारोपमा उत्रिदै गर्दा बिहीबार पनि शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । लगानीकर्ताहरु भने शेयर बजार जस्तो सम्वेदनशिल विषयमा राजनीतिक दलहरुले हल्का फूल्का टिप्पणी गर्न नहुने बताउँछन् ।

त्यसो त, प्रचण्ड मात्र त्यस्ता राजनीतिज्ञ होइनन् जसले बजार विरोधि अभिव्यक्ती दिए । यो भन्दा पहिले पनि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले शेयर बजारलाई जुवा घरको संज्ञा दिए सँगै बजारमा उच्च गिरावट आएको थियो भने ओली सरकारका अर्थमन्त्री युवराज खतिवडाले अनुत्पादक क्षेत्र भने पछि बजारमा निरन्तर गिरावट आएको थियो । विशेषगरीे शेयर बजारका लगानीकर्ताको मनोवल गिर्ने परिस्थीती आए विश्वमै बजारमा नकारात्मक प्रभाव पर्ने गर्छ ।

अहिले अर्थतन्त्र सुस्त गतिमा चलिरहेको छ । खासै उत्साहप्रद कुनै घटना परिघटना देखिएका छैनन् । विशेषत बैकिंङ क्षेत्रमा देखिएको कर्जा प्रवाह गर्न नसक्ने समस्याले गर्दा बैकिंङ क्षेत्र नै तहसनहसको अवस्थामा पुगेको छ । यस्तो वेला शेयर बजारलाई दलका नेताहरुले राजनीतिक खिचातानिको विषय बनाउँदा बजारमा थप संनाटा छाएको छ ।