देश

भाडा बृद्धि गर्न यातायात व्यवसायको माग, आन्दोलनले सर्वसाधारणलाई सास्ती (भिडियोसहित)


काठमाडौँ – भाडा समायोजनको माग गर्दै यातायात व्यवसायीले काठमाडौं उपत्यकाको रिङगरोडमा गाडी तेर्साएर आन्दोलन गरेका छन् । व्यवसायीहरुले सोमबार बिहान देखि आफ्ना सार्वजनिक यातायातका साधन सडकामा नै रोकेर आन्दोलन गरेका हुन् । जब सम्म सरकारले आफ्नो माग पुरा गर्दैन तबसम्म आफूहरुको आन्दोलन नराकिने उनीहरु बताउछन् ।

काठमाडौंमा चल्ने अधिकांश सार्वजनिक यातायातले सोमबार सेवा बन्द नै गरे । सार्वजनिक यातायात केन्द्रीय महासंघको आह्वानमा काठमाडौं उपत्यकाभित्र र छोटो दूरीमा चल्ने सवारीको सेवा बन्द गरिएको हो । कार्यलयको समयमा उपत्यकाको रिङगरोडमा गाडी रोकपछि लामो समय यातायात नै अस्तव्यस्त बन्यो । ट्याम्पो देखि सबै प्रकारका सार्वजनिक सवारी साधान रोकेर राखेपछि ट्राफिक जाम हुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको थियो ।

संघीय सरकारले राष्ट्रिय स्तरमा अन्तरप्रदेश चल्ने सवारीको गत असार २७ गते २८ प्रतिशतसम्म भाडा बढाए पनि छोटो दूरीमा चल्ने सवारीको भाडा वृद्धि नभएको भन्दै यातायात व्यवसायी आक्रोशित बनेका छन् । आफूहरुले सबै प्रदेश र सम्बन्धित स्थानीय तहमा भाडा समायोजनका लागि लिखित आग्रह गरेपनि सुनुवाई नभएको व्यवसायीहरु बताउँछन् । पुरानै दरमा भाडा उठाइरहनुपर्दा सवारीको सञ्चालन खर्च नउठ्ने अवस्था समेत आएको उनीहरुको गुनासो छ ।

आन्दोलित व्यवसायीहरूले कोरोना भाइरसको महामारीकाबीच लकडाउनले व्यवसाय चौपट भएको अवस्थामा थप पेट्रोलियम पदार्थको मूल्य वृद्धिले व्यवसायमा टिक्नै मुस्किल भएको भन्दै तत्काल भाडा वृद्धि गर्न सरकारसँग माग गरेका छन् । यता सर्वसाधारण भने जसले आन्दोलन गरेपनि सर्वसाधारण नै मर्कामा पर्ने गरेकोमा दुखेसो पेख्छन् ।

व्यवसायी आफैंले भाडा वृद्धि गरेर १५ रुपैयाँ लिँदै आएको रुटमा २० रुपैयाँ, २० रुपैयाँ लिँदै आएको रुटमा २८ रुपैयाँ र यसअघि २५ लिने गरेको रुटमा ३५ रुपैयाँ निर्धारण गरेपछि ट्राफिक प्रहरी महाशाखाले जरिवाना गर्न थालेको थियो । व्यवसायीले बौद्धबाट चाबहिल गौशाला, कोटेश्वर, सातदोबाटो, कलंकीलगायत स्थानमा लाइन लगाएर गाडी रोकेर व्यवसायी आन्दोलन गरेका थिए ।