बिजनेस

लगानीयोग्य रकम अभावका कारण अन्तरबैंकिङ ब्याजदरमा प्रभाव


काठमाडौँ – लगानीयोग्य रकम अभावका कारण यतीवेला बैंकीङ क्षेत्रमा त्रसित बनेको छ । जसको असरले निक्षेपमा कर्जाको अनुपात पनि ह्वातै बढेको छ भने अन्तरबैंकिङ ब्याजदरमा पनि प्रभाव परेको छ । वित्तीय प्रणालीमा तरलता अभावको चाप बढिरहेको छ । तरलताको अभाव भएसँगै अन्तर बैंकिङ ब्याजदरमा ह्वात्तै बृद्धि भएको छ । अहिले अन्तरबैंकिङ ब्याजदर अन्तिम बिन्दु ५ प्रतिशतमै आइपुगेको छ । पछिल्लो तथ्यांकअनुसार अन्तरबैंक कर्जाको व्याज ४.९५ प्रतिशत पुगेको छ । यस्तो ब्याज ५ प्रतिशतभन्दा बढाउन नमिल्नै व्यावस्था छ । अहिले बैंकहरूको निक्षेपमा कर्जाको अनुपात (सिडी रेसियो) पनि औसतमा ८८ नाघेको छ । नियमअनुसार सिडी रेसियोको सीमा भने ९० भन्दा ननाघ्नुपर्नेमा अहिले ८८.२५ पुगेको छ । केन्द्रय बैंकले कर्जाको अनुपात गणना गर्ने विधि परिर्वतन ले अझ बैंकीङ क्षेत्रमा असर पुगेको विश्लेषण भैरहेको छ ।

गत भदौयता बजारमा तरलता अभाव बढेको महसुस भयो । बैंकरहरूले नै तरलता अभाव निकै बढी भएको सूचना दिए । भदौ अन्तिममा सरकारले संसदबाट विनियोजन विधेयक पारित गर्न नसकेपछि ‘गभर्मेन्ट सटडाउन’को स्थिति आयो । करिब एक साता सरकारले कुनै पनि किसिमको खर्च गर्न नपाएपछि वित्तीय प्रणालीमा झनै तरलता अभाव चुलिएको थियो । तरलता व्यवस्थापनकै लागि नियामक निकाय नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष सुरु भएपछि झण्डै एक खर्बको रिपो जारी गरेको छ । पछिल्लो पटक यही असोज ७ गते ३० अर्बको रिपो जारी गरेको छ । यसअघि भदौ अन्तिममा २० अर्बको रिपो जारी गरेको थियो । उक्त रिपो असोज १४ गते मात्रै परिपक्व हुनेछ । तरलतामा भदौदेखि नै चाप परे पनि यसअघि गत भदौ १७ गते २० अर्ब बराबरको ७ दिने, भदौ २४ गते ३० अर्ब बराबरको ७ दिने रिपो जारी गरेको थियो ।

नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरूले रिपो लिने नगरेको बताउँछ । राष्ट्र बैंकका सह प्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार अहिले बजारमा रहेका २७ वटामध्ये रेगुलर १६–१७ वटा वाणिज्य बैंकले रिपो लिने गरेका छन् । बैंकहरूले बजारमा रकम अभाव भएको भन्दै कर्जा प्रवाहमा आनाकानी गर्दै ब्याजदर बढाउने गरेको भए पनि बैंकङ् क्षेत्रमा लगानीयोग्य रकम पर्याप्त रहेको केन्द्रीय बैंकले जनाएको छ ।

आर्थिक वर्षको पहिला दुई महिना बैंकहरूबाट धमाधम निक्षेप घटेको थियो । चालू आर्थिक वर्षमा वाणिज्य बैंकहरूबाट घटेको पूँजी अझै फर्किन सकेको छैन । गत आर्थिक वर्षको अन्तिम अर्थात् गत असार मसान्तमा वाणिज्य बैंकहरूमा ४२ खर्ब एक अर्ब रुपैयाँ निक्षेप थियो । चालू आवको साढे २ महिनामा पुग्दा त्यस्तो रकम ४१ खर्ब ४६ अर्ब संकलन भएको छ । गत साउन मसान्तमा यस्तो निक्षेप ४१ खर्ब २३ खर्ब रुपियाँ पुगेको थियो भने भदौ मसान्तमा ४१ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको थियो ।