देश

तरकारीको मूल्यमा शतप्रतिशत वृद्धि, केमा बढ्यो कति ?


काठमाडौँ – नेपाली हिन्दुहरुको महान् चाड दशैं,तिहार र छठ नजिकिएसँगै तरकारीको मूल्य पनि आकाशीयको छ । नेपालकै ठूलो तराकारी र फलफुलको व्यापार हुने केन्द्र कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा दुई सातायता केही तरकारीको मूल्य शतप्रतिशत बढेको छ ।

समितिको तथ्यांकलाई आधार मान्ने हो भने हाल नेपालमा दैनिक आठ सयदेखि एक हजार मेट्रिक टनसम्म तरकारी भित्रिन्छ । त्यसैले तरकारीको आयात कम भएर मूल्य बढेको नभई उत्पादनको लागत बजारमा माग बढेकाले महँगो भएको हुनसक्ने समितिका प्रवक्ता विनय श्रेष्ठले बताए । भदौको अन्तिम साता थोकमा प्रतिकेजी १५/२० रुपियाँ रहेको गोलभेँडा असोजको दोस्रो साता ३८ रुपियाँ पुगेको छ भने आलु रातो ४५ रहेकोमा अहिले ६० रुपियाँ पुगेको समितिले जनाएको छ ।

समितिका अनुसार तुनेबोडी प्रतिकेजी ६५ रुपियाँबाट १३० रुपियाँ, घिरौँला प्रतिकेजी ४५ बाट ८० रुपियाँ घिउसिमी ७५ रुपियाँबाट १३० रुपियाँ भिन्डी प्रतिकेजी ४० बाट ७० रुपियाँ पुगेको छ । त्यसै सुकेको प्याज प्रतिकेजी ४५ रुपियाँबाट थोकमै ५५ देखि ५८ रुपियाँ पुगेको समितिले जनाएको छ ।

नेपालमा यसै सम्बन्धि अनुगमन गर्ने नियामक निकाय नभएको पनि होइन । सामानको उचित मूल्य र गुणस्तर हेर्ने गुणस्तर तथा नापतौल विभाग पनि छ । तर विभागले अनुगमन नगर्दा वा गरेको अनुगमन पनि प्रभावकारी नहुँदा सर्वसाधारण दैनिक जसो बढी मूल्य तिर्न बाध्य छन् ।