देश

लोकसेवा आयोगले तत्काल परीक्षाको नतिजा निकाल्नुपर्ने माग गर्दै परिक्षार्थीहरु आन्दोलित (भिडियोसहित)


काठमाडौँ – लोकसेवा आयोगले तत्काल परीक्षाको नतिजा निकाल्नुपर्ने माग गर्दै परिक्षार्थीहरु आन्दोलित बनेका छन् । अधिकृत पदको परीक्षाको सबै चरण पूरा गरेर पनि लोक सेवा आयोगले नतिजा प्रकाशन गर्न ढिलाइ गरेको विरोधमा परीक्षार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका हुृन् । लोकसेवा आयोगले २०७६ सालमा प्रकाशित गरेको शाखा अधिकृतको विज्ञापन बमोजिमको नतिजा प्रकाशित नगरेको भन्दै परीक्षार्थीहरु आन्दोलित बनेका छन् ।

सोमवार काठमाडौंमा रहेको लोकसेवा आयोगको कार्यालय अगाडि ६ सयभन्दा बढी परीक्षार्थीले तत्काल नतिजा प्रकाशको माग राख्दै प्रदर्शन गरे । लोक सेवा आयोगले पदपूर्तिका लागि लिएको परीक्षाको अन्तरवार्ता गत भदौ ८ गते सकिएको थियो । तर नतिजा अझै प्रकाशन भएको छैन् । उनीहरुले लोकसेवा जस्तो जिम्मेवार संस्थाले नतिजा प्रकाशन गर्नुको ठाउँमा नतिजा स्थगीत गरिएको सूचना निकाल्नु दुखद् भएको बताए । लोकसेवा जस्तो गरिमामय संस्थाको आस्था र भरोसालाई बचाइराख्न पनि लोकसेवाले तत्काल नतिजा प्रकाशन गरिनुपर्ने माग छ । प्रदर्शनकारी परीक्षार्थीले लोकसेवा आयोगको यो कदमले देशमा को प्रति आस्था गर्ने, कसलाई विश्वास गर्ने भन्ने प्रश्न उठेको बताउछन् ।

प्रदर्शनमा उत्रिएका परिक्षार्थीहरुले लोकसेवा जस्तो योग्यताको कदर गर्ने र जिम्मेवार संस्थाले नतिजा ननिकालेर विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्न खोजेको बताए । लोकसेवा आयोगले सबै परीक्षाहरु सकिसकेपछि पनि नियम, कानून र ऐनले तोकेको प्रावधानअनुरुप नतिजा प्रकाशन नगरेको उनीहरुको आरोप छ ।

लोकसेवा आयोगले सायमै नतिजा प्रकाशित नगर्दा कतिपय परीक्षार्थीहरु डिप्रेशनको शिकार भइरहेको उनीहरु बताउछन् । आयोगले विभिन्न कोटाका लागि तीन वर्षसम्म विज्ञापन बमोजिम नतिजा प्रकाशन नगरिदिँदा समय र लगानी खेर गएको उनीहरुको भनाई छ । भदौमा सबै चरणका परीक्षा सम्पन्न भई अन्तिम नतिजा प्रकाशन कुरेर बसिरहेको अवस्थामा सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सबै प्रक्रिया रोकिएको थियो ।