देश

संखुवासभा सामूहिक हत्याकाण्डमा नयाँ ट्वीस्ट, घटनाको मुख्य योजनाकार लोकबहादुर काका


काठमाडौँ – संखुवासभा सामूहिक हत्याकाण्डको मुख्य योजनाकार लोकबहादुर कार्कीका काका खड्गबहादुर कार्की रहेको खुल्ल आएको छ । उनैको योजनामा खड्गबहादुरका छोरा हस्तबहादुर, लोकबहादुर, लोकबहादुरका बुवा रणबहादुर र लोकबहादुरका भाइ नरेश कार्कीले हत्या गरेको खुलासा भएको हो ।

घटना हुनुअघिल्लो दिन राति ८ बजे खड्गबहादुरसहित हस्तबहादुर, लोकबहादुर र नरेश मिलेर तेजबहादुर कार्कीको हत्याको योजना बनाएको प्रहरीले जनाएको छ । आरोपीहरू पाँचै जनालाई तेजबहादुरले हेप्ने गरेको, गाली गर्ने गरेको र तेजबहादुरको घरमा सम्पत्ति रहेको थाहा पाएसँग हत्या गरी लुटपाट गर्नेसम्मको योजना रहेको पाइएको छ ।

हत्याकाण्डको सामूहिक संलग्नताको पोल भने बुहारी रञ्जनाको मोबाइलबाट खुलेको प्रहरीको भनाइ छ। रञ्जनाको मोबाइल फेला परेपछि प्रहरीले लोकबहादुरका १७ वर्षीय भाइलाई दुई दिनअघि पक्राउ गरेको थियो। उनी पक्राउ परेपछि हत्यामा लोकबहादुरको साथमा अन्य तीन जना पनि संलग्न रहेको प्रहरीले जनाएको हो। घटनामा १७ वर्षीय भाइले सहयोगीको भूमिका निभाएको प्रहरीको भनाइ छ।

भदौ २९ गते घरमुनिको ओडारमा लुकाएको मोबाइल नरेशले चलाएपछि प्रहरीले नरेशलाई पक्राउ गरेको थियो । तर पक्राउपछि नरेशले घरमै पाएकाले चलाएको बयान दिए पनि प्रहरीले थप केरकार गर्दा आरोपी लोकबहादुरले घटनामा ५ जनाको संलग्नता रहेको बयान दिएका थिए । लोकबहादुरको बयानलगत्तै प्रहरीले लोकबहादुरका बुवा, भाइ, काका र काकाका छोरालाई पनि पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।