समाचार

बँदेल मार्न थापेको विद्युतीय पासोमा परेर एकै घरका ३ जनाको मृत्यु


काठमाडौँ – बँदेल मार्न थापिएको विद्युतीय पासोमा परेर बर्दियामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

बँदेल मार्नका लागि राखेको करेन्टको पासोमा परेर ठाकुरबाबा-३ का ३२ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको मृत्यु भएको बर्दिया प्रहरीले जनाएको छ । घटना गएराति १० बजेतिरको हो ।

सुरुमा एक जनालाई करेन्ट लागेपछि बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाले जानकारी दिए । बँदेललाई पासो थाप्ने स्थानीय राजबहादुर शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शाहीले धान खेतमा आउँने बँदेल मार्न पासो थापेको अनुसन्धानका क्रममा खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।