राजनीति

पौडेल समूह निर्वाचन समितिको ध्यानाकर्षण गराउन सानेपा जाँदै


काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय नेताहरु आज निर्वाचन समितिको ध्यानाकर्षण गराउन पार्टी कार्यालय जाँदै छन् । उनीहरु दिउँसो दुई बजे महाधिवेशन निष्पक्ष ढंगले सम्पन्न गराउन भन्दै समितिको ध्यानाकर्षण गराउन कार्यालय सानेपा जान लागेका हुन् ।

पौडेल समूहका एक नेताका अनुसार पार्टी सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेलधुरामा निष्पक्ष भएर पुनः अधिवेशन गराउन समितिसँग आग्रह गर्ने छन् । साथै, बाँकी रहेका अन्य २० जिल्लामा पनि संस्थापन पक्षको भयमा नपरी निष्पक्ष ढंगले अधिवेशन गराउन सुझाव दिने समूहको तयारी छ ।

यसभन्दा अघि सभापति देउवाको गृह जिल्लामा राज्यशक्तिको दुरुपयोग गरेर सुरक्षा बल लगाएर वडा अधिवेशन गराएको थियो । त्योसँगै पौडेल समूह हच्किएको छ ।

निर्वाचन समितिको ध्यानाकर्षण गराउन पौडेलसहित महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू अर्जुननरसिंह केसी, शेखर कोइराला, डा.मीनेन्द्र रिजाललगायत सानेपा जाँदै छन् ।