प्रवास

तालिबानका शीर्ष नेताहरूबीच सरकारको संरचनालाई लिएर चर्काचर्की


काठमाडौँ – अफगानिस्थानमा सरकार गठन गरेको केही दिनमै तालिबान नेताहरूबीच विवाद उत्पन्न भएको छ । नयाँ सरकारको संरचना र जितको श्रेय लिने विषयमा नेताहरूबीच विवाद भएको हो । काबुलस्थित राष्ट्रपति कार्यलयमा तालिबानका सह–संस्थापक एवं उपप्रधानमन्त्री मुल्लाह बरादर र हक्कानी नेटवर्कका प्रभावशाली नेता एवं शरणार्थी मामिला सम्बन्धी हेर्ने मन्त्री खालिल उर रहमानबीच चर्काचर्की भएको तालिबान अधिकारीले पुष्टि गरेको बीबीसीले जनाएको छ ।

उनीहरूबीच भनाभन भएपछि एकअर्काका समर्थकहरूले पनि झगडा गरेका थिए । तालिबानका सह–संस्थापक एवं अन्तरिम सरकारका उप प्रधानमन्त्री मुल्लाह अब्दुल गनी बरादर सार्वजनिक रूपमा देखा पर्न छाडेपछि तालिबानभित्रको विवाद सतहमा आएको हो । तालिबान स्रोतकाअनुसार नयाँ सरकारको संरचनाबारे उप–प्रधानमन्त्री बरादर खुसी छैनन् ।

तालिबानले भने आधिकारिक रूपमा नेताहरूबीच विवाद भएको अस्वीकार गरेको छ । तालिबान आफूहरू एकतावद्ध रहेको देखाउन चाहन्छ । अगस्ट १५ मा अफगानिस्तानको सत्ता कब्जा गरेपनि तालिबानले देशलाई इस्लामिक स्टेट घोषणा गरिसकेको छ ।