राजनीति

काँग्रेसमा सभापति र महामन्त्रीबाहेकका पदमा छैन नेताहरुको चासो (भिडियोसहित)


काठमाडौँ – आसन्न १४ औं महाधिवेशनलाई लक्षित गरि नेपाली काँग्रेसभित्र उम्मेद्वारी घोषणाको सरगर्मी चढेको छ । तर सभापति र महामन्त्रीबाहेकका पदमा नेताहरुको लगावै देखिएको छैन । नेपाली काँग्रेसको १४ औं महाधिवेशन निर्धारित मितिमै हुने परिपक्क वातावरण बन्दै गएपछि आगामी नेतृत्वका लागि नेताहरुको दौडधुप तीब्र बनेको छ । पार्टी सभापति र महामन्त्री पदमा अधिकांश नेताहरु लोभिएपछि धमाधम उम्मेद्वारी घोषणा पनि भइरहेका छन् ।

तर सभापति र महामन्त्रीबाहेकका पदमा हालसम्म कसैले आकंक्षा र उम्मेद्वारी दिएको सार्वजनिक भएको छैन । पार्टी चलाउन सभापति र सभापतिपछिको शक्तिशाली पद महामन्त्रीलाई मात्रै सबैले महत्व दिने परिपाटीले उपसभापति लगायतका पदप्रति नेताहरुको चासो छैन । बरु सभापति र महामन्त्रीमा दाबी गरिरहेका नेताहरुको बाग्रेनिङ टूल्सका रुपमा यी पदहरुको प्रयोग हुँदा उपसभापति र सहमहामन्त्री पदको औचित्यमाथि प्रश्न उठिरहेको छ ।

काँग्रेसको नयाँ विधानले एकजना सभापति, २ उपसभापति २ महामन्त्री र ८ सहमहामन्त्री निर्वाचित भएर आउने व्यवस्था गरेको छ । कुल १६ जना पदाधिकारीमध्ये कोषाध्यक्ष र प्रवक्ता सभापतिले मनोनीत गर्ने प्रावधान छ । तर उपसभापति र सहमहामन्त्री पद नेपाली काँग्रेसका लागि नेता व्यवस्थापन भन्दा अर्काे विकल्प बन्न सकेको छैन । सभापतिका लागि प्रधानमन्त्रीसमेत रहेका वर्तमान पार्टी सभापति शेरबहार देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका दर्जन जति नेताले आकंक्षा देखाएका छन् ।

देउवाको पक्षमा क्रियाशिल उपसभापति बिमलेन्द्र निधिले उम्मेद्वारी घोषणा गरेर देउवाको साथ छोडेका छन् । यसअघि पौडेल पक्षमा क्रियाशिल रहेका कल्याण गुरुङसमेत सभापतिमा भिड्दैछन् । देउवा फेरि पनि सभापतिको दाबीमा लागिपरेका छन् । तर देउवाबाट नेतृत्व खोस्न लागिपरेको संस्थापनइतर समुहले हालसम्म साझा उम्मेद्वार बनाएको छैन । यो पक्षमा हाल ४ नेताहरु सभापतिको आकंक्षी रहेका छन् ।

महामन्त्रीमा पौडेल पक्षको तर्फबाट गगन थापाले उम्मेद्वारी घोषणा गरेका छन् । तर यो पक्षमा अझै चार÷पाँच जनाले महामन्त्रीको आकंक्षा देखाइरहेका छन् । संस्थापन पक्षको तर्फबाट भने प्रवक्ता विश्वप्रकाश शर्माले उम्मेद्वारी घोषणा गरेका छन् । यद्यपी देउवाले महामन्त्रीमा शर्माको व्यवस्थापन गर्न आनाकानी गरेपछि निधिको साथमा उम्मेद्वारी दिएको नेताहरु बताउँछन् । पार्टीको नयाँ विधानमा दुईजना निर्वाचित महामन्त्रीको प्रावधान राखिएपछि महामन्त्री पदमा आकर्षण चुलिएको छ । काँग्रेसमा युवा पंक्तिको विशेष आकर्षण महामन्त्री पदमा देखिएको छ । महामन्त्रीमा नअटाउने परिस्थितिको पूर्वानुमान गरेका कतिपय नेताले मात्रै उपसभापति लगायतका पदमा दाबी गर्दै आएका छन् ।