राजनीति

एक्लिए प्रचण्ड ! पार्टी चलाउन गाह्रो भएपछि नयाँ–नयाँ अभिव्यक्ति (भिडियोसहित)


काठमाडौँ – सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय माओवादी आन्दोलन विघटन हुने, आफू एक्लो हुने जस्ता गम्भीर भविश्यवाणी गर्न थालेका छन् । केन्द्रीय कमिटीबाट पार्टीलाई क्रान्तिकारी बनाउने निर्णय गराएका प्रचण्डले माओवादी र आफूमाथिसमेत निर्मम समीक्षा गर्न थालेका छन् । केही समयअघि यथास्थितिमा माओवादी आन्दोलन रहिरहन नसक्ने बताएका प्रचण्डले आइतबार आफू एक्लिने चिन्ता प्रकट गरे ।

राज्यसत्ता कब्जा गर्ने उद्घोषसहित दशक लामो शसस्त्र विद्रोहको नेतृत्व गरेका प्रचण्डले प्रचण्डपथको अवधारणा समेत ल्याएका थिए । सशस्त्र विद्रोहलाई छाडेर सहजै शान्तिपूर्ण राजनीतिमा पार्टीलाई अवतरण गराउने प्रचण्ड आत्मसमीक्षामा जुटेको देखिन्छ । सशस्त्र विद्रोह, संसदको सबैभन्दा ठूलो दल हुँदै प्रचण्डको पार्टी अहिले संसदको तेस्रो ठूलो दलको हैसियतमा छ । प्रचण्ड आफैँलाई पार्टी र आफ्नो शक्ति कमजोर बन्दै गएको महसुस हुन थालेको छ । लोकतान्त्रिक अभ्यासमा आइसकेपछि छलफल र आत्मसमीक्षा गर्दै कमिकमजोरी सच्याएर अघि बढ्नुपर्ने निचोडमा प्रचण्ड पुगेको उनी निकट नेताहरू बताउँछन् ।

नेकपा बनेपछि ओलीको तानाशाही र प्रतिगमन कदमलाई प्रचण्डले नजिकबाट नियालेको र छलफल र समीक्षाको बाटोबाट अघि बढ्न थालेको माओवादी नेताहरूको बुझाइ छ । उनीहरू प्रचण्डको अभिव्यक्तिलाई सकारात्मक भन्छन । माओवादी नेताहरूको तर्कसँग विश्लेषक भने सहमत छैनन् । पार्टी चलाउन गाह्रो भएपछि प्रचण्डका पछिल्ला अभिव्यक्ति आएको विश्लेषकहरू जिकिर गर्छन ।

प्रचण्डमाथि लामो समयसम्म नेतृत्व हस्तान्तरण नगरेको आरोप लाग्दै आएको छ । पार्टीभित्र र बाहिरबाट समेत विभिन्न आरोप खेप्दै आएका प्रचण्डले पछिल्लो समय समीक्षा गरेर अघि बढ्ने नीति लिएको देखिन्छ । आलोचकहरू भने प्रचण्डको अभिव्यक्तिलाई पार्टी सत्ता र राज्यसत्तामा पकड जमाइराख्ने कुटिल चालबाजीको रुपमा लिन्छन् ।