राजनीति

नेकपा एकीकृत समाजवादीले प्रदेश १ सरकारलाई समर्थन नदिने


काठमाडौँ – नेकपा एकीकृत समाजवादी प्रदेश १ संसदीय दलले प्रदेश सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको प्रदेशसभा सचिवालयलाई जानकारी गराएको छ । एकीकृत समाजवादीले सोमबार प्रदेशसभा सचिवालयमा पत्र बुझाउँदै मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारलाई आफ्नो दलको समर्थन नरहेको जानकारी गराएको हो ।

एकीकृत समाजवादीकी प्रदेशसभा सदस्य सावित्रा रेग्मीले सरकारलाई समर्थन नरहेको जानकारी पत्र प्रदेशसभा सचिवालयलाई बुझाएकी हुन् । एकीकृत समाजवादी प्रदेश १ संसदीय दलको शनिबार बसेको बैठकले मुख्यमन्त्री आचार्यलाई समर्थन नगर्ने निर्णय गरेको हो । यस्तै एकीकृत समाजवादीले संसदीय दलको नेतामा राजेन्द्र राईलाई चयन गरेको पत्र पनि सोमबार नै प्रदेशसभा सचिवालयलाई बुझाएको छ । प्रदेश १ मा नेकपा एमालेका ५१ सांसद थिए ।

पार्टी विभाजन हुँदा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन् । १० सांसदले नयाँ दल रोजेपछि एमालेसँग ४१ जना सांसद छन् ।