राजनीति

एमालेको अवरोधबीच लोकसेवा आयोगसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित


काठमाडौँ – राष्ट्रियसभाको दोस्रो बैठकले लोकसेवा आयोगसम्बन्धी विधेयक पारित गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुको अवरोधका बीच राष्ट्रियसभाको दोस्रो बैठकले लोक सेवा आयोग विधेयक–२०७८ पारित गरेको हो । राष्ट्रियसभाको दोस्रो बैठक पनि एमालेका सांसदहरुले अवरुद्ध पारेका थिए ।

तर अवरोधकाबीच राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोक सेवा आयोग विधेयक–२०७८ निर्णयार्थ पेश गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिनुभएको थियो । सो प्रस्ताव निर्णयार्थ पेश गर्दै बहुमतले पारित भएको राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले घोषणा गर्नुभयो ।

२०७६ भदौ २५ गते प्रतिनिधिसभामा पेश भएको लोकसेवा आयोग सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट ९ असार २०७७ मा पारित भएको थियो । प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा आएको विधेयकलाई राष्ट्रिय सभाले पनि पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक आगामी भदौ ३० गते बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ ।