समाचार

रासायनिक मल खरिद प्रक्रिया अगाडि बढाउन सरकारलाई दबाव

के अब किसानले राहात पाउँलान ?


काठमाडौँ – रासायनिक मल व्यवस्थापनमा हालको अवस्था र कार्यदिशाबारे छलफल भएको छ । छलफलमा सरकारले वर्षदिनमा आवश्यक पर्ने मलको मागलाई खरिद प्रक्रियाहरु अघि बढाउनुपर्ने र समयमै यसको व्यवस्थापन गर्नुपर्ने सरोकारवालाहरुले जोड दिएका थिए ।

कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाले रासायनिक मल व्यवस्थापन, हालको अवस्था र कार्यदिशाका बारेमा छलफल गरेको छ । आईतबार सिंहदरवारमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विकास महाशाखा अन्तर्गतको कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाले सरोकारवाला निकायहरुलाई बोलाएर रासयनिक मल व्यवस्थापन, हालको अवस्था र कार्यदिशाको बारेमा छलफल गरेको हो ।

छलफलमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले रासायनिक मलको कुरा जनतासँग धेरै जोडिएको भएकोले टेक्निकली रुपमा मूल्य निर्धारण गर्न अफ्ठ्यारो रहेको बताएको छ । तर रासायनिक मल खरिद, बिक्रीमा सहजता ल्याउनुपर्नेमा जोड दिएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका उपसचिव डा. गंगादत्त आचार्यले आवश्यक परिमाणका लागि छुट्याइएको रकमले आधा मात्रै मल खरिद गर्न सकिने भन्दै आवश्यक परिमाणमा मल आपूर्ति हुन नसक्ने बताए । उनले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य अत्याधिक वृद्धि भएकोले मलको अनुदानको लागि छुट्याइएको रकमले आवश्यक परिमाणको आधा मात्रै आउने बताए । उनले ५ लाख २० हजार रासायनिक मल खरिद गर्न करिव २० अर्ब रुपैयाँ लाग्ने भन्दै नेपाल सरकारले विनियोजन गरेको रकमले आधा परिमाण मात्रै आउने बताए ।

छलफलमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सह सचिव प्रकाशकुमार सञ्जेलले १२ अर्बको मल खरिद गर्ने योजना मात्रै बनाउन नहुने बताए । सरकारले आवश्यक पर्ने टेन्टेटिभ रकमको हिसावले योजना बनाएर अनुदानको बजेटले भ्याएसम्म तत्काल दिने र बाँकी फरफार गर्ने किसिमले काम अघि बढाइनुपर्ने बताए ।

छलफलमा उपस्थित अन्य वक्ताहरुले सरकारले वर्षदिनमा आवश्यक पर्ने मलको मागलाई खरिदका प्रक्रियाहरु अघि बढाउनुपर्ने र समयमै शुरु गर्नुपर्ने बताएका थिए । उनीहरुले अहिले दिइरहेको अनुदान युरिया मलमा मात्रै भइरहेकोले डिएपी र म्युरेटिप पोटासमा कम भएकोले युरियाको अनुदान घटाएर अन्य रासायनिक मलको मात्रा बढाउन सकिने धारणा राखेका थिए ।