विदेश

जेलजीवनकै क्रममा पेरुका क्रान्तिकारी नेता गोन्जालोको निधन


काठमाडौँ – पेरुका क्रान्तिकारी नेता गोन्जालो अर्थात् अबिमाइल गुजम्यानको निधन भएको छ । पेरुको क्रान्तिकारी समूह शाइनिङ पाथका नेता तथा संस्थापक गोन्जालोको जेलमै रहेको बेला ८६ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ ।


गोन्जालो छालाको क्यान्सरबाट पीडित रहेका थिए । दर्शनशास्त्रका प्राध्यापकसमेत रहेका गोन्जालोलाई सन् १९९२ मा पक्राउ गरिएको थियो । अदालतले उनलाई आतंकवाद र अरू अपराधमा दोषी ठहर गरेको थियो । त्यसपछि उनी आजीवन काराबासको सजाय भोगिरहेका थिए । गत जुलाईमा उनको स्वास्थ्यमा समस्या देखिएपछि जेलबाट अस्पताल पठाइएको थियो । कम्युनिष्ट र माओ विचारधाराबाट प्रभावित गोन्जालोले सन् १९६९ मा साइनिङ पथ नामक समूह बनाएका थिए ।

उक्त समूहले पछि पेरूको सरकारविरूद्ध विद्रोह गरेको थियो । एक दशकभन्दा बढी चलेको साइनिङ पथ र पेरूको सरकारबीचको युद्धमा झन्डै ७० हजार मानिस मारिएका थिए । गोन्जालो पक्राउ परेपछि साइनिङ पथ समूहलाई निकै ठूलो धक्का लागेको थियो । उक्त समूहका धेरै सदस्यले पछि सरकारसँग आत्मसमर्पण गरेका थिए । अहिले पनि सानो संख्यामा साइनिङ पथका सदस्यहरू पेरूमा सक्रिय रहेका छन् ।