राजनीति

विप्लवद्वारा एमसीसीविरुद्ध आन्दोलनको घोषणा


काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीविरुद्धको पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सो पार्टीका नेता खड्गबहादुर विश्वकर्माले भदौ २८ गते राजधानीमा एमसीसी विरुद्ध वृहत् प्रदर्शन गर्ने जानकारी दिनुभयो ।

एमसीसीलाई नेपालबाट सधैँका लागि भगाउन एकखालको आन्दोलनको आवश्यकता रहेको उहाँले बताउनुभयो । एमसीसी राष्ट्रियतासँग सम्बन्धित मात्र नभएर देशको जलस्रोतलगायत अन्य प्रकृति संरक्षणको विषयसमेत रहेको बताउँदै उहाँले यसको विरुद्धमा सबै एकजुट हुनुपर्ने बताउनुभयो । संसद्बाट एमसीसी पास गराउने षड्यन्त्र भइरहेको भन्दै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले मूर्खता गरे देश आन्दोलनको भुमरीमा फस्ने चेतावनी दिनुभयो ।