पर्यटन

पर्यटकको पर्खाइमा सोलुखुम्बुको पिकेडाँडा, तर लगानी गर्ने कसले ?

पासाङ शेर्पा


काठमाडौँ – सोलुखुम्बुको खुम्बु क्षेत्र पुग्न नसक्ने र समयले नभ्याउने पर्यटकका लागि पिकेडाँडा सवैभन्दा उत्कृष्ट गन्तव्य हो । यो प्रदेश १ को सोलुखुम्बु जिल्लास्थित लिखुपिके गाउँपालिका १ मा अवस्थित छ ।

नेपालकै पहिलो संरक्षित वन सगरमाथा राष्ट्रिय निकुञ्ज सोलुखुम्बुमा पर्छ । विश्वको सर्वोच्च शिखर सगरमाथा सगरमाथा यही जिल्लामा पर्छ । यी त केही उदाहरण मात्रै हुन् । प्रदेश १ को समृद्धको प्रमुख आधार नै पर्यटन रहेको छ ।

सोलुखुम्बु मात्रै नभएर प्रदेश १ आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नसक्ने धार्मिक, ऐतिहासिक, पुरातात्त्विक र पर्यटकीय सम्पदाले भरिपूर्ण छ । यी सम्पदाको संरक्षण गर्दै उपयोग गर्न सक्ने हो भने सबै नागरिक केही वर्षभित्रै समृद्ध बन्न सक्ने त्यस क्षेत्रका जानकार बताउँछन् ।

सम्भावना कति ?

पिकेडाँडा आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षक गन्तव्य हो । पिके पुग्नेहरूको संख्या दिनप्रतिदिन बढ्दो छ । त्यसैले यस क्षेत्रको विकास गर्न सकियो भने खुम्बु क्षेत्र पुग्न नसक्ने र समयले नभ्याउने पर्यटकका लागि पिकेडाँडा अर्को आकर्षक गन्तव्य होे, जहाँ आन्तरिकका साथै बाह्य पर्यटक पनि आकर्षित हुन्छन् ।

यो क्षेत्रमा रहेको बौद्ध, गुम्बा मन्दिर पनि पर्यटक तान्न सक्ने स्थल हुन् । त्यसैगरी यो प्रदेशमा ट्रेकिङको पनि पर्याप्त सम्भावना छ । पहाडी र हिमाली क्षेत्र रहेका कारण पनि यो भूगोल ट्रेकिङका लागि अझ आकर्षण बढ्न सक्छ ।

यस्तै, साहसिक पर्यटनको सम्भावना पनि प्रशस्त छ । अल्ट्रा म्याराथुन, म्याराथुन जस्ता खेल यो ठाउँमा गर्न सकिन्छ ।

पर्यटन विकासको अर्को सम्भावना भनेको यस क्षेत्रमा पाइने याक तथा चौरी व्यवसायीको लागि प्रशस्त सम्भावना रहेको छ । सम्भाव्यता अध्ययन गरेर त्यसलाई अघि बढाउन सकिने सम्भावना यहाँ रहेको छ ।

यी विविध सम्भावनालाई योजनाबद्ध रूपमा कार्यन्वयन गर्न सक्ने हो भने यहाँको आर्थिक गतिविधिमा वृद्धि हुनेछ । यसले नागरिकको जीवनस्तरमा सुधार ल्याउनुका साथै गाउँपालिका, सोलुखुम्बु जिल्ला र समग्र प्रदेशको समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

यो क्षेत्रका समस्या

प्रदेश नम्बर १ को लिखुपिके गाउँपालिकामा पर्यटयकीय स्थलको कमी छैन । कमी छ त त्यसको संरक्षण, संवर्धन र प्रवर्धन गर्ने योजनाको । पर्याप्त सम्भावना भएर पनि पर्यटन क्षेत्रको विकास नहुँदा समग्र प्रदेश र गाउँपालिकाको विकास खुम्चिएको छ । भएका पर्यटकीय स्थलको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसार गर्न नसक्दा प्रदेश १ को लिखुपिके गाउँपालिकाले पर्यटनको माध्यमबाट लिनसक्ने लाभ लिन नसकेको बताउँछन् ।

पछिल्लो चरणमा पिके डाँडामा आन्तरिक पर्यटनले केही विकास भएको भए पनि यसको व्यवस्थित विकास हुन नसकेको पर्यटन व्यवसायी कामी शेर्पा बताउनु हुन्छ । पर्यटकीय स्थलसम्म पुग्ने यातायातको सहज सुविधा नहुनु अर्को मुख्य समस्या हो ।

‘यदि यो क्षेत्रको विकास गरिए लिखुपिके गाउँपालिका मात्र होइन, धार्मिक पर्यटनका लागि समेत लिखुपिकेको शिरमा रहेको रानीडाँडा अर्थात् पिकेडाँडा प्रदेश १ को पर्यटनको आधार बन्नसक्छ’, शेर्पाले भन्नुभयो ‘पिके टे«कमार्गको निर्माण भए हजारौँ पर्यटक काठमाडौँ हुुँदै जिरीको बाटो प्रयोग गर्छन् । यहाँको आर्थिक समृद्धिमा समेत यसले सघाउ पुग्नेछ ।’

पिकेलाई प्रदेशको आर्थिक आधारका रूपमा समेत लिन सकिन्छ । पिकेडाँडाबाट लिखुपिके गाउँपालिका र सोलुखुम्बुवासीले अपेक्षाकृत लाभ लिन सकिरहेका छैनन् । भविष्यमा यो प्रदेशले यसबाट ठूलो आर्थिक लाभ लिन सक्छ ।

पर्यटकका लागि उचित बाससहितका होटलको अभाव पनि यहाँको अर्को समस्या हो । पिकेडाँडालक्षित सुविधासम्पन्न होटेलको कमी छ । पिकेडाँडालाई लक्षित गरेर स–साना होटेल खुलेका छन् तर, त्यहाँ व्यवस्थापनको पाटो निकै कमजोर छ । पिकेमा आन्तरिक पर्यटक आउने क्रम निकै बढेको छ ।

पर्यटकलाई आकर्षण गर्न सक्ने स्थल भएको पिकेमा र देम्बमा पनि सुविधासम्पन्न होटेल अभाव छ । पछिल्लो समयमा पिकेमा भने होटल व्यवसायमा लगानी बढ्दै गएको होटल व्यवसायी संघ लिखुपिकेका अध्यक्ष पेम्बा शेर्पा बताउनुहुन्छ । सोलुखुम्बुबाट लिखुपिके पुग्न यातायातको सहज सुविधा नहुँदा पनि यहाँका होटल व्यवसाय फस्टाउन नसकेको उहाँको भनाइ छ । शेर्पाले पर्यटन विकासका लागि होटल व्यवसायको पनि विकास हुनुपर्ने बताउनु भयोे ।