राजनीति

संसदमै भयो भाँडभैलो : सभामुखले आत्मविश्वास गुमाए, एमाले जंगिएपछि देउवा–प्रचण्ड हेरेको हेरेई

एमालेका अघि जब सभामुख नै हतासिए !


काठमाडौँ – साउन ३२ मा अकस्मात अन्त्य गरिएको प्रतिनिधिसभा बैठक आज बसेको छ । तर एमाले र सभामुखबीचको मुडभेडले प्रतिनिधिसभाको बैठक नै प्रभावहिन बनेको छ ।

बुधबार अपरान्ह चार बजेका लागि बोलाईएको प्रतिनिधिसभाको नवौ अधिवेशनमा सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपतिबाट संसद् आह्वान गरेको पत्र पढेर सकाउन नपाउँदै एमाले सांसदहरु जंगिहाले । सभामुख सापकोटा गत साउन ३२ मा अत्याशित अन्त्य गरिएको अधिवेशन शुचारु भएपछि सांसदहरुलाई स्वागत गर्ने दाउमा थिए, एमाले सांसदहरु भने संसद् चल्न नदिने दाउमा ।

हसिलो मुहारसहित ‘सांसदहरुलाई स्वागत गर्न त पाईन्छ होला नि’ भन्दै एमालेका सांसदहरुलाई प्रश्न गरेका सापकोटाले आफ्ना कुरा राख्न एमाले सचेतक विशाल भट्टराईलाई पाँच मिनेटको समय दिए । त्यसपछि शुरु भयो, यसअघि संसद बाहिर देखिदै आएको एमाले–सभामुखबीचको मुडभेड संसद् भित्र ।

नेकपा एमालेका मुख्य सचेतक विशाल भट्टराईले सभामुखसापकोटालाई एमालेबाट कारबाही सिफारिस गरिएका १४ सांसदलाई किन बचाएको र एमाले विभाजनको मतियार किन बनेको भन्दै आक्रोशसहितको प्रश्न गरेका थिए । जवाफमा सभामुख सापकोटाले प्रचलित कानुनको आधारमा आफूले निर्णय लिएको बताए । तर यतिवेलासम्म एमालेका सांसदहरु रोस्टम अघि नै पुगेर नाराबाजी गरिरहेका थिए । एमालेका सांसदहरुको चर्काे नाराबाजीकै बीच सभामुख सापकोटा एकाएक हतासिए । प्रतिनिधिसभा नियमावलीको नियम २१ को उपनियम ’ख’ र ’ग’ आकर्षित गर्न खोजिरहेका उनले कहिले घ र ग उच्चारण गरे भने कहिले ख र ग ।

सभामुखले आकर्षित गरेको नियमावलीको नियम २१ को ख र ग मा के छ त ? उपनियम ख मा सभामुखले पद अनुकुल आचारण गरेको छैन भन्ने प्रस्तावको छलफलका क्रममा बाहेक सभामुखको आचारणको आलोचना गर्न नहुने उल्लेख छ । त्यस्तै ग मा सदन वा सभामुखको निर्णय बदर गरियोस् भन्ने प्रस्तावमाथि बोल्दाको अवस्थामा बाहेक सदन वा सभामुखको कुनै पनि निर्णयको आलोचना गर्न नहुने उल्लेख छ । एमालेका सांसदहरुले आलोचना गरेपछि सभामुखले त्यसलाई आकर्षित गर्न खोजेका हुन् । आत्मविश्वाससमेत गुमाएको मुद्रामा देखिएका सापकोटा हडबडाएनन् मात्रै, एमाले सांसदले संसद् चल्न नदिने गरिरोस्टम नै घेराउ र नाराबाजी गरेपछि सदन १५ मिनेटका लागि स्थगित गरे ।

सदन स्थगित भएपछि सभामुखले संसद् चलाउन सहयोग गर्न आग्रह गर्दै एमालेका मुख्य सचेतक र सचेतकसंग छलफल गरे । बैठक १५ मिनेटपछि शुरु पनि भयो । तर एमाले सांसदहरु झनै सभामुखमाथि आक्रामक शैलीमा उत्रिए ।सभामुखको कुर्सिमा बसेर एमाले फुटाउन पाइदैनदेखि प्रतिनिधिसभा नियमावली विपरित सभामुख मूर्दावादको नाराबाजी संसद्मा गुन्जिए ।

यतिवेलासम्म आक्रोशित बनिसकेका सभामुख सापकोटाले ‘देशमा संविधान छ, कानुन छ र संसद् छ,’‘त्यसको बाहिर नजानु होला’भन्दै पुनः सचेत गराए । एमाले सांसद नरोकिएपछि पुनः १५ मिनेटका लागि बैठक स्थगित गरियो । तर एमाले सांसदमा कुनै सुधार नआएपछि सभामुखले बैठक अघि बढाएर गृहमन्त्री बालकृष्ण खाँडलाई राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्न अनुमति दिए । एमालेको अवरोधकै बीच खाँडले अध्यादेश पेश गरे । लगत्तै भदौ २५ गते दिउँसो १ बजेका लागि बैठक तय गर्दै सदन स्थगित भयो ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला दुईपटकको प्रतिनिधिसभा विघटनले एमाले र सभामुखबीच मुडभेड चलिरहेको छ । त्यो शिलशिला सरकारले भदौ १ मा दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर एमाले फुटाएपछि कारबाहीको सिफारिसमा परेका माधवकुमार नेपालसहितका १४ सांसदलाई सभामुखले बचाएपछि एमाले झनै रुष्ट बनेको छ । जसले संसदीय प्रक्रियालाई नै प्रभावहिनमात्रै बनाएको छैन संसद्को गरिमासमेत घटाउने काम गरेको छ ।