राजनीति

सुदूरपश्चिममा ओली पक्षकी एमाले सांसद बोहराले रोजिन् एकीकृत समाजवादी


काठमाडौँ – सुदूरपश्चिममा नेकपा एमालेकी प्रदेशसभा सदस्य माया तामाङ बोहराले पनि नेकपा (एकीकृत समाजवादी) रोज्नुभएको छ । यसअघि एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षमा रहनुभएकी बोहराले सोमबार दिउँसो धनगढीस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा पुगेर एकीकृत समाजवादी पार्टी रोज्नुभएको हो ।

एमाले र माओवादीको एकतापछि बनेको नेकपा र एमालेको अनौपचारिक विभाजनका बेला उहाँ अध्यक्ष ओलीको पक्षमा हुनुहुन्थ्यो । एमालेका तत्कालीन वरिष्ठ नेता माधव नेपाल पक्षीय १७ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिदासमेत उहाँले विपक्षमा मतदान गर्नुभएको थियो । यो सँगै एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यको संख्या १४ पुगेको छ भने प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको नेकपा एमाले चौथो दलमा खुम्चिएको छ ।

सुदूरपश्चिम प्रदेशसभामा २५ जना प्रदेशसभा सदस्य रहेकोमा १४ जनाले एकीकृत समाजवादी रोजेपछि एमालेसँग अब सभामुखसहित ११ जना प्रदेशसभा सदस्य मात्र रहेका छन् ।