राजनीति

चीन र भारतका विषयमा एमाले र पूर्व एमालेबीच बाझाबाझ, भारतसँग डराएको सरकार चीनमाथि किन खनियो ? (भिडियोसहित)


काठमाडौँ – भारतसँगको सीमा विवाद र जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले कडा प्रतिवाद गर्नुपर्ने बेला सरकार चीनतिरको सीमा विवादमा केन्द्रीत बनेको छ । यसलाई कतिपयले बेमौसमी बाजाका रुपमा अथ्र्यारहेका छन् ।

दार्चुलाका जयसिंह धामीलाई भारतीय सुरक्षा फौज एसएसबीले तुइन काटेर महाकालीमा बगाएको एकमहिना भन्दा बढी वित्यो । तर यस्तो जघन्य अपराधका दोषीलाई कारबाही र पीडीत परिवारलाई न्याय दिलाउन सरकार तैचुपमैचुपको अवस्थामा छ ।न भारतलाई कुनै जानकारी वा कुटनीतिक नोट नै पठाएको छ ।

बरु विहिबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले नेपालका तर्फबाट कुनै खाले नोट नआएको भन्दै आफुलाई यो विषय जानकारी नभएको अभिव्यक्ति दिए । जसले नेपालको कुटनीतिक पक्ष भारतीय प्रहार र सरकारको नालायकिपन स्पष्ट झल्किन्छ । यस्तो बेला सरकारले कुटनीतिक माध्यमबाट दोषीमाथि कारबाही गर्नुपर्ने हो । तर ‘काम कुरो एकतिर कुम्लो बोकी ठिमीतिर’भनेजस्तै चिनियासंगको सीमा विवादतिर सरकारले ध्यान मोडेको छ ।

जसमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रश्न उठाएका छन् । एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री ओलीले सीमा सम्बन्धीविवाद नै नभएको चीनसंग सरकारले कसलाई खुशी पार्न विवाद देखायो भन्दै प्रश्न गरेका हुन् ।

जयसिंह धामीे बेपत्ता प्रकरण र सीमा विवादलाई लिएर भारतसंग जवाफ खोज्नुपर्ने बेला चीनतिर सरकार लागेपछि ओलीले प्रश्न उठाएका हुन् । किनकि भदौ १६ को मन्त्रिपरिषद् बैठकबाटै सरकारले ’चीनसँगको सीमा समस्या’ अध्ययन गर्न भन्दै समिति गठनको निर्णय गरेपछि गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वमा समिति बनेको छ ।अब यो समितिले हुम्लाको नाम्खा गाउँपालिकास्थित चीनतर्फको सीमा क्षेत्र छुट्याउने ११ र १२ नम्बर सीमा स्तम्भको अध्ययन गर्नेछ ।

यसअघिदेखि नै नेपाली भू–भाग मिचिएको भन्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले अनुसन्धान गर्न दबाव दिदै आएका छन् ।२०७६ मा ओली नेतृत्वको सरकारले तत्कालिन परराष्ट्र मन्त्रालयका सहसचिवझबीन्द्र आर्यालको नेतृत्वमा अध्ययन समिति बनाएको थियो । समितिले कुनै विवाद नरहेको प्रतिवेदन दियो । तर पछिल्लोपटक २०७७ मा हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जीवी गिरीको नेतृत्वमा बनेको समितिले अध्ययन गरि बुझाएको प्रतिवेदनलाईपरराष्ट्रले गोप्य राख्यो । जसले शंका गर्ने सुविधा पनि दिएको छ । तर अहिले पुनः अध्ययन समिति बनाएको विषयमा चीनले दुई देशबीचको सीमा विवाद १९६० ताका नै समाधान भएको प्रतिक्रिया दिदै केही व्यक्तिले उछाल्न खोजेको आरोप लगाएको छ ।

कतिपयले नेपाली आकाशमा भारतीय हेलिकोप्टरको मनोमानी, एसएसबीले ज्यादती र कालापानी, लिपुलेकको विवाद जस्ता गम्भीर विषयमा सरकार मौन बसेर विगतमा टुंगीएका विषयलाई विवादित बनाउन खोजेको आरोप लगाएका छन् । तर भर्खरै मात्रै एमालेबाट विभाजित भएर नयाँ पार्टी बनाएका नेताहरुले समस्या केपी ओलीबाटै शुरु भएको दाबी गर्दै सरकारको बचाउ गर्छन भने एमाले नेताहरु सरकारको नालायकिपन भनिरहेका छन् ।

नेपाल र चीनबीच करिब १ हजार ४ सय १४ किमि लम्बाइको सीमा क्षेत्र छ । सगरमाथा क्षेत्रदेखि हुम्लाहुँदै दोलखाको लामाबगर टिप्पासम्म विवाद देखिन्छ । तरनेपाल र भारतबीच करिब १ हजार ८ सय ८० किमि लामो सीमामध्ये करिब २५ बढी जिल्लामा विवादैविवाद छ ।सुस्तामा १४५ र कालापानी क्षेत्रमा ३७२ सहित ६०६ वर्गकिलोमिटर भू–भाग भारतले मिचेको छ । जसमध्येका इलामको पशूपति नगरमा त आठ आना भू–भागमा समेत भारतले कब्जा जमाएको छ ।

चीन या भारत, कसैलाई पनि नेपालको भू–भागमाथि कब्जा जमाउने छुट छैन । तरआफ्नो जमिन मिचिदासमेत बोल्न नसक्ने सरकारकै कारण छिमेकीहरुको दबदबा कायमै छ । त्यसमा पनि भारतले त जमिनमात्रै नभएर नेपाली नागरिकको ज्यानसमेत लिइरहेको तितो सत्यले नेपालीको मन पोखिरहेको छ ।