राजनीति

काँग्रेस महाधिवेशन : सभापतिका आकांक्षीहरु नै एजेण्डा र नीति विहिन, महामन्त्री पद युवा नेताहरुको अकर्षण


काठमाडौँ – नेपाली काँग्रेसको १४ महाधिवेशन नजिकिएसंगै नेतृत्वका लागि दाबी गर्नेको संख्या बढेको छ । तर अधिकांश आकंक्षीहरु एजेन्डाविहिन तरिकाले उम्मेद्वारी घोषणा गरिरहेका छन् ।

शुक्रबारदेखि नै वडा अधिवेशन शुरु भएपछि औपचारिक रुपमै नेपाली काँग्रेसको १४ महाधिवेशनको सरगर्मी चढेको छ । सरगर्मी महाधिवेशन मात्रै नभएर कसले कसरी नेतृत्व हत्याउनेमा बढी केन्द्रीत देखिन्छ । यसका लागि सभापतिदेखि महामन्त्री लगायतका पदमा नेताहरुले उम्मेद्वारी घोषणा गरिरहेका छन् । कपाल फुलेकादेखि युवा माझ लोकप्रिय छबी बनाएका नेताहरु मैदानमा उत्रिएका छन् । तर नेतृत्व हत्याउने मात्रै बहस भइरहेका बेला काँग्रेसमा एजेन्डासहितको उम्मेद्वारी दिने भने हालसम्म भेटिएका छैनन् । पदमा किन र केका लागि आफ्नो दाबी भन्ने कुरामा अधिकांश आकंक्षीको प्रष्टता छैन ।

नेतृत्वमा पुनः दोहोरिन लागिपरेका सभापति शेरबहादुर देउवा एजेन्डाविहीन जस्तै छन् । पार्टी र सरकारको नेतृत्वमा परीक्षण भएर आलोचित बनिरहेका देउवासंग आफू फेरि सभापति दोहोरिनुको आवश्यकता किन भन्ने पुष्टि गर्ने बलियो आधार छैन ।अझ गत निर्वाचनमा काँग्रेसको लज्जास्पद हार र प्रमुख प्रतिपक्षको भूमिकामा रहँदा कमजोर प्रस्तुति देखाएका देउवाले अहिले बनेको सरकारमा समेत आफुलाई कमजोर प्रमाणित गर्दै छन् ।

यसैकारण देउवालाई नेतृत्वबाट पाखा लगाउनुपर्ने मत बलियो छ ।संस्थापनइतर पक्षको तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलसहित चार जनालाई सभापतिको प्रमुख दाबेदार मानिएको छ । तर हालसम्म साझा उम्मेद्वार दिन नसकेको पौडेल पक्षले एजेन्डा दिने त झन कुरै भएन् ।यसले काँग्रेसको अस्तित्व र नीतिमै प्रश्न उठाएको विश्लेषण भइरहेका छन् ।

युवाहरुमा नेतृत्व जानुपर्ने बहस भइरहेका बेला सभापतिमा उम्मेद्वारी दिएका कल्याणकुमार गुरुङले समेत सभापतिमा उठ्ने र चुनाव जित्ने बाहेकको अर्काे घोषणा गर्न सकेनन् । सभापतिपछिको सबैभन्दा बलियो पद हो महामन्त्री । महामन्त्रीमा पौडेल पक्षको तर्फबाट युवामाझ लोकप्रिय छबि बनाएका गगन थापाले उम्मेद्वारी दिएका छन् भने प्रवक्ताको जिम्मेवारीमा रहेको विश्वप्रकाश शर्माले उनको टक्करमा संस्थापन पक्षबाट उम्मेद्वारी दिदैछन् । तर उम्मेद्वारी घोषणा गरेका थापाले समेत एजेन्डा र नीति बारेमा स्पष्ट पार्न सकेनन् । यसले नेतृत्वको दाबीसहित मैदानमा उत्रिएका नेताहरु एजेन्डा भन्दा व्यक्तिलाई प्रधान बनाएर अघि बढेको सहजै पुष्टि हुन्छ ।