राजनीति

संसद् अधिवेशन आह्वान भएपछि सभामुख सापकोटा भियना जानबाट रोकिए


काठमाडौँ — संसद् अधिवेशन आह्वान भएपछि सभामुख अग्निप्रसाद सापकोटा विश्वभरका सभामुखहरूको सम्मेलनमा भाग लिन नजाने हुनुभएको छ । आइतबार साँझ अष्ट्रियाको राजधानी भियनाका लागि जाने कार्यतालिका भए पनि संसद् अधिवेशन आह्वान भएपछि उहाँ रोकिनुभएको हो ।

मन्त्रिपरिषद्को बैठकले शनिबार संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार नै राष्ट्रपतिले भदौ २३ गते दिउँसो ४ बजेका लागि संसद् अधिवेशन आह्वान गरिसक्नुभएको छ । सभामुखहरूको सम्मेलनमा भाग लिनका लागि २० गते गएर २५ गते फर्किने कार्यतालिका रहेकोमा संसद् अधिवेशन आह्वान भएपछि सभामुख सापकोटा नजाने संसद् सचिवालयले जानकारी दिएको छ ।

सभामुखको नेतृत्वमा राष्ट्रिय सभा उपाध्यक्ष शशीकला दाहाल, कांग्रेस सांसद भीमसेनदास प्रधान र एमाले सांसद लालबहादुर थापा भियना जाने कार्यक्रम थियो । तर, सभामुख संसद् अधिवेशन बोलाएकाले र सांसद प्रधान कांग्रेसको वडा अधिवेशन चलिरहेकाले नजाने भएका हुन् । नेपालको तर्फबाट सम्मेलनमा सहभागी हुन उपाध्यक्ष दाहाल र एमाले सांसद थापा भियना जाँदैछन् ।