राजनीति

दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएन्, मन्त्रीविहिन सबै मन्त्रालयको काम प्रभावित बन्द


काठमाडौँ – लामो समय मन्त्रिमण्डल विस्तार गर्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना हुन थालेको छ । सर्वोच्च अदालतको परमादेशपछि गएको असार २९ मा देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । तर, करिब दुई महिना वितिसक्दा पनि मन्त्रिविस्तार गर्न नसकेपछि जनस्तरमा सरकारको आलोचना बढेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ खाएको दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्दा मन्त्रीविहिन सबै मन्त्रालयको काम प्रभावित बन्दै आएको छ । अहिले देउवाले आफूसहित ६ सदस्यीय मन्त्रिपरिषद्का भरमा सरकार चलाइरहेका छन् । देउवाले गृह, अर्थ, कानुन र ऊर्जाबाहेकका सबै मन्त्रालयमा आफैले नेतृत्व गरिरहेका छन् । स्वास्थ्यमा भने राज्यमन्त्री मात्रै छन् ।

दशैँ तिहारजस्ता चाडपर्व नजिकिँदै गरेको अवस्थामा समेत उद्योग, वाणिज्य, आपूर्ति, भौतिकलगायत सबै मन्त्रालय मन्त्रीविहीन छन् ।महामारीकै बीच सत्तारोहण गरेका देउवाले जनतालाई आशा जगाउने गरी राष्ट्रका नाममा सम्बोधनसम्म गर्न नभ्याएकाले यो सरकारकोेकार्यशैली हेर्दा राम्रो संकेत नदेखिएको भन्दै सर्वसाधारण गुनासो गर्न थालेका छ्न ।

ओली सरकारको साढे तीन वर्षको आयुलाई मूल्यांकन गर्ने हो भने मुलुकले स्थिर सरकार होइन, स्थिर प्रधानमन्त्री मात्रै पायो । ओली सरकार बाहिरबाट हेर्दा एउटै भएपनि १८ पटक गरिएको मन्त्रीमण्डल हेरफेरले विगतकै अस्थिरताको निरन्तरता दिएको थियो । तर ओली सरकारले गरेका गलत कामलाई सच्याउँदै जनतामाझ आशा छरेको देउवा सरकारले मन्त्रिपरिषद् समेत विस्तार गर्न नसक्दा दसई मिहनामै सर्वसाधारणमा आक्रोश छाउन थालेको हो ।

अप्ठेरो परिस्थितिमा नेतृत्व सम्हालेको सरकारले धेरै काम गर्न नसके पनि जनतामा केही आशातित प्रगति देखाउने सबैको अपेक्षा थियो । तर त्यो आश पनि विस्तारै हराउँदै गएको छ । पछिल्ला केही दशकमा जतिपटक व्यवस्था बदलियो, समाज बदलियो, राजनीतिक परिवर्तन पनि भयो । तर, राजनीति गर्ने नेताको संस्कार नफेरिएपछि जनताले सबै सरकारबाट यही अवस्था ब्यहोर्नु परेको छ ।