अर्थनीति

चाडपर्वको माहोल सुरु भएसँगै सुनको माग बढ्यो


काठमाडौँ – चाडपर्वको सिजन सुरुभए सँगै बजारमा सुन अभाव हुन थालेको छ । तिजका कारण दैनिक सुनको माग ३५ किलो पुगे पनि आयात कम हुँदा व्यवसायी अन्योलमा परेका छन् । लामो समय पछि बजार कोभिड अघिको लयमा फर्कीए पनि आयात कोटाका कारण कारोबार प्रभावित नै भएकोे छ ।

नेपाली हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै छ । तीजका कारण सामान किनमेल गर्नेको भिडले सहर बजार तातिरहेको छ । कोरोना महामारीले ओइलाएको बजारलाई तीजले ब्युँताउने काम गरेको छ । सहरका अधिकांश फेन्सी पसल, पार्टी प्यालेस, कस्मेटिक पसल, फुटपाथदेखि सुपर स्टोरसम्म तीजको किनमेल गर्नेको भिड लागेको छ । त्यससँगै सबैभन्दा बढी भिड त सुन पसलमा देख्न पाइन्छ । तीजमा सामान्यतया महिलाहरु सुनचाँदीका गहनाले छपक्कै सजिने पनि गर्छन् । अझ त्यो भन्दा बढी त गरगहनाले सजिएर तीजमा हिँड्ने महिलाको बेग्लै जमात समेत छ । जसले गर्दा सुन तथा चाँदी पसलमा ग्राहकको भिड हुने गरेको छ । विगतका बर्षहरुमा पनि भदौ महिना लागेसँगै तीजको चहलपहल सुरु हुने हुदा कारोवार पनि बढ्ने गरेको थियो । तर कोरोना महामारीले केहि असर गरेपनि चहलपहल निरन्तर बढेको व्यावसायी बताउछन ।

नेपाली बजारमा सुनको माग बढ्दो छ । तर, कारोबार बढैसँगै बजारमा सुन अभाव हुन थालेको छ । साउन महिनामा दैनिक २० केजीको हाराहारीमा सुनको खपत भएको थियो । तर, अहिले दैनिक ३० देखि ३५ केजीसम्म सुनको कारोबार भइरहेको छ । आपूर्ति दैनिक २० केजी मात्र हुने भएकोले सुनको माग धान्न धौधौ परिरहेको व्यवसायीको भनाइ छ ।

पहिले नै व्यवसायीहरूले तयार बनाएर राखेको नयाँ नयाँ डिजाइनका गरगहनाले अहिले मागको केही हिस्सा धानेको व्यावसायी बताउँछन । पछिल्ला दिनहरूमा रेडिमेड गरगहना पर्याप्त बिक्री हुने गरेको छ, पहिले नै व्यवसायीले किनेर रिफाइन गरेर तयार गरेका गहना यति बेला बेच्ने गर्छन्, जसले गर्दा मागलाई केही मात्रामा धान्न पुगेको छ । तर यसले दिर्घकारली स्थाइत्व कायम गर्ने देखिदैन । सुनको आयात कोटा बढाउनेबारे अर्थ मन्त्रालय, राष्ट्र बैंक र वाणिज्य तथा आपुर्ती मन्त्रालयको ध्यान जाओस ।