राजनीति

कांग्रेस महाधिवेशनको औपचारिक सुरुवात, किन खुल्न सकेनन् सभापतिको दाबेदार



काठमाडौँ –नेपाली कांग्रेसको १४औँ महाधिवेशनको औपचारिक सुरुवात भएको छ । साँढे पाँच वर्षपछि हुन लागेको महाधिवेशनको प्रक्रिया गाउँ तथा नगर वडा अधिवेशन आजबाट सुरु भएको हो । मंसिर ९ गतेबाट महाधिवशन नै शुरु हुने भएपनि संस्थापन र इत्तर पक्षले अझै सभापतिको साझा उम्मेद्वार तय गर्न सकेको छैन् ।

नेपाली काँग्रेसको वडा अधिवेशनको पूर्वसन्ध्यामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विहिवार पत्रकार सम्मेलन गर्यो । पत्रकार सम्मेलनमा पौडेल पक्षबाट सभापतिका ४ आकांक्षी एउटै मञ्चमा सहभागी भए । तर बसाई व्यवस्थापनमा समस्या पर्दा वरिष्ठ नेता पौडेललाई एकछिन आपत नै प¥यो । सभापतिका चार आकांक्षीहरुलाई मञ्चमा कसरी व्यवस्थापना गर्ने भन्ने मै आपतमा परेका पौडेलले बल्लतल्त आफ्नो बाँयातिर क्रमशः प्रकाशमान सिंह र शेखर कोइरालालाई बसाए । र दायाँतिर महामन्त्री शशांक कोइरालालाई बसाएर आफु बीचमा बसे । एकैछिनको अलमलपछि पौडेलले उनीहरुको बसाईको व्यवस्थापन त गरे । तर एउटै कार्यक्रममा बसाईको व्यवस्थापन गर्न समेत पौडेललाई हम्मे हम्मे पर्दा अब आफुसहितका तीन आकांक्षीलाई कसरी मिलाएर अगाडि बढ्ने भन्ने विषय पौडेलका लागि चुनौतीपूर्ण बनेको छ ।

यतिवेला संस्थापनइतर पक्षका तर्फबाट पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, नेताद्धय प्रकाशमान सिंह र डा. शेखर कोइराला सभापतिको आकंक्षी छन् । उनीहरुकै बीचबाट नेतृ सुजाता कोइराला पनि आफुलाई सभापतिको दाबी गर्छन । पार्टीमा योगदानका हिसावले यी नेताहरुको खासै भिन्नता छैन । तर आधा दर्जनमा सभापतिको मोह देखिदा पौडेल पक्ष फर्सादमा परेको छ । यसबाट को—को पछि हट्ने हुन् र कसलाई उम्मेद्वार बनाउँने भन्नेमा संस्थापन इतर अलमलमा देखिन्छ ।

त्यसैले पनि संस्थापन इतर समूहले सभापतिको साझा उम्मेद्वार अझै पनि तय गर्न सकिरहेको छैन् । यता सभापतिका अर्का उम्मेदवार प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवालाई हराउन सक्ने उम्मेदवार दिनुपर्ने माग पौडेल समूहभित्र छ । तर चारै जनाले अहिलेसम्म एकले अर्कालाई छाड्ने कुरा गरेका छैनन्, बरू आफू नै संगठनमा बलियो रहेको दाबी गरिरहेका छन् । महामन्त्री कोइराला आफूले मात्रै सभापतिमा देउवालाई हराउन सक्ने दाबी प्रस्तुत गरिरहन्छन् । पूर्वमहामन्त्री सिंह पनि आफू सभापतिका लागि बलियो उम्मेदवार हुने दाबी गर्दै आएका छन् । डा. शेखर कोइराला पनि आफू यसपटक सभापति पदमा उठिछाड्ने बताइरहेका छन् । १३ औं महाधिवेशन सकिएलगत्तैदेखि उनी जिल्लाहरू पुगेर नेता÷कार्यकर्ता भेटिरहेका छन् । यस्तो अवस्थामा पौडेल समूहले भने साँझा उम्मेद्वार नै तय गर्न नसक्ने कतिपय विश्लेषकको ठम्याई छ ।

यता संस्थापन पक्षबाट शेरबहादुर देउवा पछि हट्ने कुरै भएन । संस्थापनमै सक्रिय उपसभापति विमलेन्द्र निधिले आफ्नो दाबेदार प्रस्तुत गरिसकेका छन् । उनी पछि हट्न सक्ने अवस्थामा देखिदैनन् । यसर्थ पौडेल पक्षले एकल उम्मेद्वार उठाउन सकेको खण्डमा र संस्थापन पक्षबाट दुई उम्मेद्वार महाधिवेशनमा लडेको खण्डमा पौडेल पक्ष काँग्रेसको नेतृत्व गर्न सक्ने अवस्थामा पुग्ने आँकलन गर्न थालिएको छ ।