समाचार

निरक्षर ज्यामीलाई ६० लाख दिएको भनेर घरजग्गा हडप्दैछ सहकारी (भिडियोसहित)


काठमाडौँ – ललितपुरको महालक्ष्मीस्थान बस्ने उनी साधारण ज्यामी काम गरेर जीवन गुजारा गर्दै आएका छन । पुर्खौली जमिनमा उनले दुखजिलो गरेर एउटा घर बनाएका छन । तर अवस्था कस्तो आएको छ भने काठमाडौँको बल्खुमा रहेको ग्रीन भ्याली बचत तथा ऋण सहकारी संस्था लिमिडेटको ग्रान्ड डिजाईनमा फसेर उनी सडकमा आईपुगेका छन ।

उनी निरक्षर छन् । ग्रीन भ्याली सहकारीको सदस्य पनि हैनन् । उनले यो सहकारीसंग कुनै आर्थिक कारोबार पनि गरेका छैनन् । तर उनको नाममा ६० लाख ऋण रहेको भन्दै सहकारीले घर लिलामीको सूचना पत्रिकामा छापेपछि उनलाई हर्ट अटयक नै भयो ।
उनको यो अवस्था आउनुको पछाडी एउटा ठुलै गिरोहले भूमिका खेलेको पीडित पक्षको दावी छ । गिरोहको खेल बुझन् दुई बर्ष पछाडि फर्किनुपर्ने हुन्छ ।

प्रकाश खत्रीको चिनजान काठमाडौ बस्ने छेटु शेर्पासंग पाँच बर्ष अघि भएको थियो । तत्कालिन समयमा राजधानीकै एक सहकारीमा काम गर्ने शेर्पाले प्रकाशको चिनजान अर्का व्यक्ति हस्तबहादुर विकसंग गराई दिए । घरको फिनिसिङ गर्ने क्रममा रहेका प्रकाशलाई हस्तबहादुरको कम्पनीबाट रोडा वालुवा लिन सहज हुने भन्दै चिनजान गराएका थिए ।

सिन्धुपाल्चोकका हस्त बहादुर विक सो समयमा काठमाडौँको ग्वार्कोमा भोटेकोशी रोडा उद्योग एण्ड एविसि सप्लायर्स नामको कम्पनी चलाउथे । विस्तारै प्रकाशलाई विश्वासमा लिएर हस्तबहादुले रोडा बालुवा दिने भन्दै पाँच लाख रुपैया अग्रिम लिएका थिए । लामो समय पछिसम्म उनले रोडा वालुवा दिएनन् । बरु यहि बीचमा आफूले गाडि निकाल्न लागेको भन्दै ग्रीन भ्याली सहकारीको ऋणका लागि साक्षी बस्दिन प्रकाशलाई आग्रह गरे ।

हस्त बहादुरले काठमाडौँकै एक जना साक्षी चाहिने भएकोले प्रकाशले यति सहयोग गरिदिनु पर्यो भन्दै अनुरोध गरे । जसमा हो मा हो मिलाए छेटु शेर्पाले । आफू पनि साक्षि बस्दिने भएकोले कुनै शंका नगर्न भन्दै प्रकाशलाई घरजग्गाको लालपुर्जा र नागरिकताको फोटोकपी सहित सहकारीको कार्यालयमा बोलाए ।

साथिको नाताले प्रकाश साक्षि बसिदिए । लेख्न पढ्न नजानेका उनले जहाँजहाँ भन्यो त्यहित्यहि लाप्चे लाईदिए । त्यसपछि आफ्नै काममा फर्किएका प्रकाशले यसप्रति खासै चासो राखेनन् । बरु यो बीचमा वालुवा रोडा नदिएको भन्दै हस्तवहादुरसंग पैसा फिर्ता मागे तर उनले हस्तबहादुरले पैसा नभएको चेक भिडाए । मामिला प्रहरीसम्म पुग्यो तर अहिलेसम्म पनि प्रकाशले बाँकि रकम पाएका छैनन् ।
प्रकाश हस्तवहादुरबाट पिडित बनिरहेका थिए । जसमा शेर्पाको समेत हात थियो । तर अचानक सहकारीले २०७८ साउन ५ गते उनको घरसहितको जग्गा लिलामीमा राखेपछि उनीमाथि अर्को बज्रपात पर्यो ।

लिलामी प्रक्रिया बारे एक राष्ट्रिय दैनिकमा सार्वजनिक सुचना आएपछि मात्र उनीहरुले थाहा पाए प्रकाशको नाममा त ६० लाख ऋण रहेछ । उनलाई साक्षी बस्ने भन्दै झुक्काएर ऋणी बनाईएको रहेछ । जसको साक्षीमा छेटु शेर्पा र हस्तबहादुरका छोरा विजयकुमार गहतराज रहेछन ।
प्रकाशको घरजग्गा हडप्न सहकारीले समेत जालसाझी गरेको देखिन्छ । उनको नाममा यतिका ऋण हुँदा समेत विगत दुई बर्षमा एकचोटि पनि किस्ताका लागी फोन आएन । अर्कातर्फ ज्यामी काम गर्ने उनमाथि सहकारीले धितो खाने नियत नभए कसरी ऋण लगानी गर्यो ? त्यस्तै ललितपुर बस्ने मान्छेलाई काठमाडौको सहकारीले कसरी ऋण लगानी गर्यो ।

यसबारे बुझ्न समयचक्रको टोली बल्खुस्थित सहकारीको कार्यालयमा पुगेको थियो । तर त्यहाका कर्मचारी नरेन्द्र कायस्थले हामीमाथि रुखो स्वभाव देखाए भने आफू यस विषयमा नबोल्ने बताए । यदि ऋणीको धितो खाने नियत नभए उनी बोल्न किन डराए त ?

अझ गज्जब त के छ भने जग्गाको सक्कली लालपुर्जा प्रकाशकै हातमा छ । सहकारीले के आधारमा ऋण दियो र कसरी घरजग्गालाई धितो बनायो ? अर्कातर्फ लिलामीसम्मको प्रक्रिया प्रकाशलाई केहि थाहा छैन । यदि उनले ऋण लिएको भए कति किस्तामा कसरी र कस्ले ऋण लग्यो त्यो प्रमाण दिन पनि सहकारी तयार छैन ।