समाचार

वडाध्यक्ष श्रेष्ठको निधनमा आज काठमाडौँ महानगरमा शोक बिदा


काठमाडौँ – काठमाडौँ महानगरपालिका १९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधनमा आज (शुक्रबार) महानगरपालिकाले शोक बिदा दिएको छ । पैसठ्ठी वर्षीय श्रेष्ठको उपचारका क्रममा बिहीबार नर्भिक अस्पतालमा मस्तिष्कघातका कारण निधन भएको थियो ।

वडाध्यक्ष श्रेष्ठको निधन अकल्पनीय भएको भन्दै मेयर विद्यासुन्दर शाक्यले दुःख व्यक्त गरेका छन् । उनले मृतात्माको चीर शान्ति र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

यसैगरी उपमेयर हरिप्रभा खड्गीले श्रेष्ठको निधनबाट महानगरले ठूलो क्षति व्यहोर्नुपरेको जनाउँदै मृतात्माको चीर शान्तिको कामना गरेकी छन् । श्रेष्ठको शव बिहान ८ बजे अस्पतालबाट अन्तिम श्रद्धाञ्जिलका लागि वडामा लगिँदै छ । बिहान ९ देखि अपराह्न ३ बजेसम्म शव वडा कार्यालयमा राखेपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने वडा सदस्य चन्द्रमान डङ्गोलले जानकारी दिए ।

वि।सं। २०१३ पुस १४ गते जन्मिएका श्रेष्ठलाई गएको डेढ महिनाअघि आन्द्रामा क्यान्सर देखिएको थियो । उपचारकै क्रममा उनलाई मस्तिष्कघात भएपछि मृत्यु भएको हो ।

पञ्चायतकालमै वडा सदस्यका रूपमा निर्वाचित श्रेष्ठले विसं २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनका श्रीमती, तीन छोरी र एक छोरा छन् ।