राजनीति

मेरो उम्मेद्वारी सभापति बाहेक अरु पदमा होइन : शेखर कोइराला


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेखर कोइरालाले आसन्न महाधिवेशनमा आफूले सभापति बाहेक अरु पदमा उम्मेद्वारी नदिने बताएका छन् ।

संस्थापन इतर समूहबाट साझा उम्मेद्वार बनाउने क्रममा कोइरालालाई उपसभापति वा महामन्त्रीमा उठ्न दबाब बढेपछि उनले आफू सभापति नै लड्ने सार्वजनिक गरेका हुन् । संस्थापन इतर समूहमा सभापतिको साझा उम्मेद्वार चयन गर्न निरन्तर छलफलमा हुँदै आए पनि एकले अर्कालाई छाड्ने मनस्थितिमा छैनन् ।

कोइरालाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा आफूले १३औँ महाधिवेशन लगत्तैदेखि सभापतिका लागि तयारी गर्दै आएकाले अहिले आएर अन्य पदका उम्मेद्वार हुन नसक्ने जिकिर गरेका छन् ।

बिहीबार नै कोइरालासमेतको उपस्थितमा संस्थापन इतर समूहले पत्रकार सम्मेलन नै गरेर आफूहरु साझा उम्मेद्वार तय गरेर अघि बढ्ने प्रतिवद्धता जनाएको छ।

इतर समूहबाट सभातिमा कोइरालासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह आकांक्षी छन् ।