देश

पोखरामा पहिरोले पुरिएर तीन जनाको मृत्यु


काठमाडौँ – पोखराका विभिन्न स्थानमा पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ । १ बालक बेपत्ता भएका छन् भने ५ जना घाइते भएका छन् । प्रहरीका अनुसार अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा पोखरा–२० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी ३५ वर्षीया श्रीमती सुनमाया तामाङको मृत्यु भएको हो ।

श्रेष्ठको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा र सुनमायाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुका ३ वर्षका छोरा सन्तोष बेपत्ता भएका छन् भने अर्का ९ वर्षीय छोरा राजकुमार घाइते भएका छन् । यसैगरी पोखरा–११ भन्ज्याङ नमुनाटोलमा पहिरोमा घर पुरिदा ४२ वर्षीय लक्ष्य नेपालीको मृत्यु भएको छ । पहिरोमा परेर घाइते उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।