राजनीति

विवेकशील साझाको छुट्टाछुट्टै बैठक बस्दै


काठमाडौँ – विवेकशील साझा पार्टीको आज छुट्टाछुट्टै बैठक बस्दै छ । अध्यक्ष रवीन्द्र मिश्रले दिउँसको १२ बजेका लागि बैठक बोलाएको छ भने, संयोजक रहेका मिलन पाण्डेले ११ बजेका लागि बैठक बोलाएको छ ।


यी दुवै बैठक भर्चुअल माध्यमबाट हुने पार्टीका प्रवक्ता शरदराज पाठकले जनाएको छ । अध्यक्ष मिश्रले गत साउन ११ गते सङ्घीयताको खारेजी र धर्म निरपेक्षतामा जनमत सङ्ग्रहसहितको राजनीतिक प्रस्ताव सार्वजनिक गरेपछि विवेकशील साझामा वैचारिक मतभेद देखिएको छ । पाण्डे समूहले मिश्रको राजनीतिक प्रस्ताव पार्टीलाई स्वीकार्य नहुने बताएको छ । आजको बैठकमा दुवै पक्षले एक अर्कालाई स्पष्टीकरण सोध्ने तयारी राखेको बुझिएको छ ।


मिश्र समूहले संयोजक पाण्डे, नेताहरू केशव दाहाल र हरिष भट्टलाई प्रस्टीकरण सोध्ने तयारी गरेको छ । यता पाण्डे समूहले पनि अध्यक्ष मिश्र र प्रवक्ता शरद पाठकलाई जिम्मेवारीबाट हटाउने तयारी थालेको छ । त्यसका लागि अहिले पाण्डे समूह आन्तरिक छलफलमा छ ।