देश

सुनसान चिडियाखाना, आर्थिक आम्दानी नहुँदा जनावरलाई खाद्यान्न पुर्याउन धौधौ


काठमाडौँ – कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द रहेको चिडियाखाना गत साउन १ गतेदेखि सञ्चालनमा आएको छ । तर महामारीका कारण मानिसहरु घुम्न ननिस्किनाले आर्थिक आम्दानी कम हुँदा चिडियाखानाका जनावरहरुलाई खद्यान्नको व्यवस्थापन गर्न धौ–धौ नै परेको छ ।

सञ्चालनको मुख्य आय टिकट बिक्रीबाट हुने गरेकोमा यो श्रोत नै बन्द भएपछि देशको एकमात्र सदर चिडियाखाना समस्यामा परेको छ । वार्षिक १४ करोड आम्दानी हुने गरेको चिडियाखानामा अहिले आधा जस्तो आम्दानी घटेको चिडियाखानाकी सूचना अधिकृत लिना चालिसेल बताउछिन । बन्दा बन्दीका बेला कर्मचारीको आधा पारिश्रमिक काटेर पनि जनावरहरुलाई खानेकुराको जोहो गर्न हम्मे हम्मे परेको उनको गुनासो छ ।

साउन १ गतेदेखि सर्वसाधारणका लागि सञ्चालन गरेपनि चिडियाखाना भित्र पूर्ण रुपमा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्यका मापदण्डहरु पालना गराईएको छ । तर महामारी पुर्ण रुपमा नियन्त्रण हुन नसक्दा चिडियाखाना नै संकटमा पर्दै गएको छ ।

मानिसबाट जनावर र जनावरबाट मानिसमा सर्ने रोगहरुलाई रोक्नको लागि अन्तर्राष्ट्रिय स्तरका चिडियाघरहरुमा पालना गरिएका र लागू गरिएका नियमहरु पालना गरेर मात्रै चिडियाघरमा सर्वसाधारणहरुलाई प्रवेश गराइएको सुचना अधिकारी चालीसेको भनाई छ । विगतमा वार्षिक रुपमा चिडियाखानाबाट १४ करोडसम्मको आम्दानी हुने गरेको र त्यसमा जनावरलाई ख्वाउनका लागि लगभग ४ करोड खर्च हुने गरेको थियो तर अहिले वार्षिक रुपमा ८ करोडको हाराहारीमा पनि आम्दानी भएको छैन ।

अहिले चिडियाखानामा ३६ जना सदस्यहरुले कुनै एक जनावरको अभिभावकत्व लिएर सहयोग गरीरहेका छन् । चिडियाखाना स्तनधारी ३६ प्रजातीका २९९, सरिसृप १० प्रजातीका ४८, मत्स्य १५ प्रजातीका ४१, पंक्षी ५२ प्रजातीका ६०९ वटा गरी ११३ प्रजातीका ९९७ वटा वन्यजन्तु रहेका छन् ।