राजनीति

एमालेको पत्तासाप, महिनादिन पनि नटिक्ने भए दुई मुख्यमन्त्री


काठमाडौँ – राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेर भदौं २२ सम्म दल रोज्न पाउने सुविधा दिएसंगै एमाले छोड्ने सांसदको संख्या बढेको छ । योसंगै सातै प्रदेशमा एमाले अल्पमतमा परेको छ भने बाँकी रहेका प्रदेश सरकार पनि ढल्ने तयारीमा छन् ।

भर्खरै मात्रै कित्ता परिवर्तन गर्दै माधवकुमार नेपालको साथ छोडेर एमालेमै अडिएकी अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री त बनिन्,तर दुईसाता नवित्दै अल्पमतमा परेपछि उनको पद भरापमा परेको छ । एमालेको स्पष्ट बहुमत रहेको बागमतिमा मंगलबार १२ सांसदले माधवकुमार नेपालको नवगठित नेकपा (एकिकृत समाजवादी) रोजेपछि एमालेले बहुमत गुमाएको हो । एक सय १० सदस्यीय प्रदेश सभामा एमालेका अब ४४ सांसद छन् ।

बुहमत पु¥याउन ५६ सांसद चाहिन्छ, तर यसअघि माधवतिर खुलेका २२ मध्ये १२ सांसदले नयाँ पार्टीमा सनाखत गरेको र अरुले पनि नेकपा (एकिकृत समाजवादी) रोज्ने तयारीमा रहेकाले एमाले संकटमा पर्ने भएको छ ।बागमतीमा एमाले अल्पमतमा परेसंगै नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनले तयारी अघि बढाएका छन् ।

आफ्नै सल्लाहमा शाक्य मुख्यमन्त्री बनेको भएपनि अब आफ्नो पार्टीमा नआए सहयोग नगर्ने यसअघि नै समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्पष्ट पारेका छन् ।नयाँ सरकार गठनका लागि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन बन्ने भएपनि एमाले गठबन्धनको सरकार तोड्न महत्वपूर्ण भूमिका खेलेकाले माधवकुमार नेपालकै एकीकृत समाजवादीलाई नेतृत्व दिने तयारी गरिएको छ । र नयाँ सरकारको मुख्यमन्त्रीमा समाजवादीसहितको गठबन्धनले राजेन्द्र पाण्डेलाई अघि सार्ने लगलग पक्कापक्की बनेको छ ।

माधवको साथ छाडेरै प्रदेश एकको मुख्यमन्त्री बनेका भीम आचार्य पनि जागिर गुम्ने अवस्थामा छन् ।९२ सदस्यी प्रदेश सभामा एमालेका ५१ सांसदमध्ये १० सांसद एकिकृत समाजवादीको पक्षमा उभिएपछि एमाले अल्पमतमा परेको छ ।अब प्रदेश एकमा पनि गठबन्धनले आचार्यको सरकार ढालेर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई नेतृत्व दिने तयारी गरेको छ । यो संगै एमाले नेतृत्वका सबै प्रदेश सरकार ढल्नेछन् भने केन्द्रमा सत्ता कब्जा गरेको गठबन्धनले प्रदेश सरकारमा समेत पकड जमाएर बस्नेछ ।

प्रदेश एक र बागमती प्रदेशबाहेक प्रदेश दुईमा जसपा नेतृत्वको मिलीजुलि सरकार छ । एमालेका २१ मध्ये १३ सांसद माधवतिर छन् ।एमालेका २७ सांसद रहेको गण्डकी प्रदेशमा माधवकुमार नेपालको समाजवादी शुन्य अवस्थामा भएपनि काँग्रेस नेतृत्वको सरकार छ ।लुम्बिनी प्रदेशमा एमालेका ४१ सांसदमध्ये रमा घर्तीले एकिकृत समाजवादी रोजेकी छिन । यहाँ भर्खरैमात्र एमालेको सरकार ढालेर गठबन्धनले पकड जमाएको छ ।माओवादीले नेतृत्वको गरेको कर्णालीमा एमालेका २० मध्ये दुई सांसदले एकीकृत समाजवादी रोजेका छन् ।

माधवतिरका ४ जनाले फ्लोर क्रस गरेपछि यसअघि नै पद गुमेको छ ।सभामुखसहित एमालेका २५ सांसद रहेको सुदुरपश्चिममा एकीकृत समाजवादीमा १३ सांसद खुलेका छन् । माओवादी नेतृत्वको सरकार रहेको यो प्रदेशमा समाजवादीको बर्चश्वले सुरक्षित बनेको छ ।योसंगै सबै प्रदेशबाट एमाले नेतृत्वको सरकारलाई पत्तासाप पारेको गठबन्धनको तर्फबाट अब प्रदेशएक र बागमती प्रदेशमा एकिकृत समाजवादीले नेतृत्व गर्नेछ । दुईमा जसपाको नेतृत्व हुनेछ भनेगण्डकी र सुदुरपश्चिममा काँग्रेसले सरकार हाँक्नेछ । माओवादी केन्द्र भने लुम्बिनी र कर्णालीको सरकार पाएर हर्षबढाई गरिरहेको छ ।