समाचार

काठमाडौँमा थुप्रिएको फोहोर उठाउन सुरु


काठमाडौँ – एक महिनापछि काठमाडौँमा थुप्रिएको फोहोर आजबाट उठाउन थालिएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकसहित बसेको बैठकको निर्णय अनुसार फोहोर उठाउन थालिएको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले बैठकमा सकारात्मक छलफल भई फोहोर उठाउने निर्णय भएको जानकारी दिनुभयो । काठमाडौंको फोहोर सिसडोलमा व्यवस्थापन गर्ने गरिएको छ । सिसडोलमा फोहोर व्यवस्थापनमा पटक–पटक समस्या आउँदा काठमाडौंमा फोहोरको डंगुर थुप्रिने गरेको छ । काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले फोहोर व्यवस्थापनको जिम्मेवारी सहरी विकास मन्त्रालयको भएको बताउनुभएको छ ।