राजनीति

महाधिवेशनका लागि गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा चहलपहल सुरु



काठमाडौँ –नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनका लागि गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा चहलपहल सुरु भएको छ । आज महाधिवेशनका लागि केन्द्रबाट नियुक्त भई जिल्ला निर्वाचन अधिकृत रामचन्द्र गौतम स्याङ्जा आएसँगै निर्वाचनका गतिविधि अगाडि बढेका छन् । यससँगै स्याङ्जाका सबै वडाहरुको निर्वाचन पार्टीको केन्द्रीय सर्कुलरअनुसार भदौ १८ मै सम्पन्न हुने निश्चित भएको छ ।

स्याङ्जामा निर्वाचन अधिकृत गौतमको आगमनसँगै जिल्ला निर्वाचन कार्यालय तथा समितिको कार्यालय काङ्ग्रेसको पार्टी कार्यालय अभियानपथमा खुलेको छ । आजबाटै जिल्ला निर्वाचन समिति गठन भई निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कार्यहरु प्रारम्भ भएको निर्वाचन समिति सचिवालयका सदस्य फणिन्द्र पौडेलले बताउनुभयो ।

निर्वाचनका लागि जिल्ला सहायक निर्वाचन अधिकृतका रुपमा त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बाबुकुमार सिग्देल नियुक्त हुनुभएको छ । यससँगै आज नै वडा, पालिका, प्रदेश क्षेत्र, प्रतिनिधि सभा क्षेत्रका मतदान अधिकृतहरुको नियुक्ति पनि भइसकेको निर्वाचन समिति सचिवालयका सदस्य प्रदीप पोखरेलले बताउनुभयो ।

स्याङ्जाका ९७ वडा, ११ पालिकाका मतदान अधिकृत नियुक्तिसँगै निर्वाचनको कार्यक्रम तीव्र गतिमा अगाडि बढेको शिक्षक सङ्घ पुतलीबजार नगरपालिकाका उपाध्यक्ष अर्जुन पौडेलले बताउनुभयो ।

निर्वाचन कार्यालयको स्थापना र निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक अधिकृत र अन्य आवश्यक कर्मचारीको नियुक्ति र प्रक्रियागत कार्यहरु अगाडि बढेसँगै स्याङ्जामा आजबाट महाधिवशेनको छुट्टै चहलपहल र माहोल बनेको छ । भोलि बुधबार क्षेत्र नं १ का मतदान अधिकृतहरुका लागि स्याङ्जामा र क्षेत्र नं २ का मतदान अधिकृतहरुका लागि वालिङमा अभीमुखीकरण तालिम ९ओरिएन्टेसन० आयोजना गरिएको निर्वाचन अधिकृत गौतमले बताउनुभएको छ ।