राजनीति

सभापतिको साझा उम्मेदवार तय गर्न पौडेल पक्षको बैठक बोहराटारमा जारी


काठमाडौँ – नेपाली काँग्रेसका पौडेल पक्षको बैठक नेता रामचन्द्र पौडेल निवास बोहराटारमा बसिरहेको छ । बैठकमा १४ औं महाधिवेशनमा संस्थापनइतर पक्षबाट सभापतिको साझा उम्मेदवार तय गर्न नेताहरुबीच सहमति जुटाउने प्रयास भैरहेको छ ।

महाधिवेशनको मिति नजिकिँदै गर्दा काँग्रेसभित्र सभापतिका आकांक्षी एक दर्जनको हाराहारीमा रहेका छन् भने त्यसमा पनि इतर पक्षमा सबैभन्दा धेरै रहेका छन् । सभापतिको आकांक्षीमा इतर पक्षबाट पौडेलसहित नेताहरु प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला, अर्जुन नरसिंह केसीदेखि रामशरण महतसम्म रहेका छन् ।

उनीहरु मध्येबाट एक जना साझा उम्मेदवार तय गर्नका लागि नेताहरु छलफलमा जुटेका हुन् । पौडेल पक्षको शीर्ष तहमा सभापतिको एकल उम्मेद्वार तय गरेर संस्थापन पक्षसँग प्रतिष्पर्धा गर्ने सहमति भएपनि पात्रबारे सहमति जुट्न सकेको छैन ।