समाचार

विगत केही दिनदेखि सक्रिय रहेको मौसममा सुधार


काठमाडौँ – विगत केही दिनदेखि सक्रिय रहेको मौसममा सुधार भएको छ ।नेपालको तराई भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतिर सरेकाले मनसुन आज केही कमजोर भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अब केही दिन मनसुन कमजोर रहने भएकाले निरन्तरको भारी वर्षाको सम्भावना नरहेको मौसमविद्ले जनाएका छन् । हाल देशभर सामान्य बदली रही प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै वाग्मती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन भारी वर्षाको सम्भावना रहने मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।